स्थानीय तहको उपनिर्वाचनः कीर्तिपुरमा मेयरको उम्मेदवार चयनमा तेरो मेरो भनिन्न- सांसद् केसी
थानकोट ।
संघीय सांसद् राजेन्द्रकुमार केसीले कीर्तिपुर नगरपालिकाको मेयर चयन गर्न हुने उपनिर्वाचनका लागि नेपाली काँग्रेस पार्टीबाट मात्रै कम्तीमा ११ जनाले इच्छा देखाएको बताउनुभएको छ ।
शनिबार चन्द्रागिरिमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै सांसद् केसीले सर्वसम्मत उम्मेदवार चयन गर्ने हो भने कीर्तिपुर नगरको मेयर तथा २ वटा वडामा हुने उपनिर्वाचनमा नेपाली काँग्रेसको जित सुनिश्चित हुनेमा आफु विश्वस्त रहेको धारणा राख्नुभयो ।
कीर्तिपुरको मेयर बन्न शनिबार बिहानसम्म नेपाली काँग्रेस पार्टीमा ११ जनाले इच्छा देखाउनुभएको अपडेट छ उहाँले भन्नुभयो ।
पार्टीले जिल्ला, स्थानीय तथा वडाहरूमा समेत विभिन्न पदमा योग्यता अनुसार जिम्मेवारी दिन सक्ने हुँदा सबैले साझा उम्मेदवार खडा गर्न आवश्यक रहेको धारणा राख्नुभयो । नेपाली काँग्रेसलाई आफ्नै दलबाट असहयोग हुँदा जितको नजिक पुगेर पनि चुनावी मैदानमा पराजय भोग्नु परेको तितो यथार्थता रहेकोले चुनावमा आफ्नैबाट पटकपटक धोका पाइएको समेत बताउनुभयो ।
गत साउन १० गते कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको मिर्गौला रोगका कारण निधन भएको थियो ।
रिक्त रहेको उनको स्थानमा पदपूर्ति गर्नका लागि उपनिर्वाचन गर्नुपर्नेछ । निर्वाचन आयोगले आगामी मङ्सिरको तेस्रो साता जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहमा उपनिर्वाचन गर्ने जनाए पनि मिति भने तोकिसकेको छैन् ।
देशभर नगर प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष २, वडाध्यक्ष २८ गरी विभिन्न स्थानीय तहमा रिक्त रहेको ३४ पदका लागि उपनिर्वाचन गर्नुपर्ने अवस्था रहेको छ ।










