बागमती प्रदेश सरकारमा एक महिनासम्म मन्त्री जिम्मेवारीविहीन, मन्त्रालय थप्ने तयारी
थानकोट ।
संघमा सत्ता समीकरण परिवर्तन भएसँगै बागमती प्रदेशमा सरकार परिवर्तन भई नयाँ सरकार बनेको एक महिना पूरा भएको छ तर एक महिनाअघि मन्त्रीपरिषद् गठन हुँदा पछि जिम्मेवारी तोकिने गरी बिनाविभागीय मन्त्रीमा नियुक्त मदुकुमार श्रेष्ठले अझै मन्त्रालयको जिम्मेवारी पाउनुभएको छैन् ।
गत साउन ९ गते जिम्मेवारी पछि तोकिने भन्दै बिनाविभागीयमन्त्रीमा धादिङका मदुकुमार श्रेष्ठ नियुक्त हुनुभएको थियो ।
नेपाली कांग्रेस र नेकपा (एमाले) बिचको सत्ता समीकरणपछि बागमती प्रदेशमा सरकारको नेतृत्व कांग्रेसले गर्ने गरी भागबन्डा भएपछि मुख्यमन्त्री बन्नुभएका कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा तामाङको सिफारिसमा गत साउन ९ मा १० सदस्यीय मन्त्रीपरिषद् बनाइएको थियो । कांग्रेसले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित सात मन्त्रालय र एमालेले छ वटा मन्त्रालय भागबन्डा गर्ने सहमति अनुसार एमालेले आफ्नो भागमा परेका मन्त्रालयमा जिम्मेवारीसहित मन्त्रीहरू पठाएको थियो ।
कांग्रेसभित्र भने सहमति जुट्न नसक्दा पहिलो चरणमा बनेको मन्त्रीपरिषद्मा गएकाले जिम्मेवारी पछि तोकिने गरी मन्त्री पदमा नियुक्ति र शपथ लिएका थिए । कांग्रेसबाट जिम्मेवारी पछि तोकिने गरी कुन्दनराज काफ्ले, श्यामबहादुर खड्का र मदुकुमार श्रेष्ठ मन्त्रीमा नियुक्त हुनुभएको थियो । दोस्रो पटक मन्त्रीपरिषद् विस्तारसँगै यसअघि कांग्रेसबाट मन्त्री बनेका तीन जनामध्ये काफ्लेलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिने गरी कार्यविभाजन गरिएको थियो तर श्रेष्ठको कार्यविभाजन अझै तोकिएको छैन् ।
दोस्रो पटक मन्त्रीपरिषद् विस्तार हुँदा कांग्रेसबाट सुरजचन्द्र लामिछानेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, हरिप्रभा खड्गी श्रेष्ठले सामाजिक विकास मन्त्रालय, विमल ठकुरीले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, मीनकृष्ण महर्जनले खेलकुद तथा युवा मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो ।
प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका आन्तरिक मामिला तथा कानुनमन्त्री लामिछानेले बिनाविभागीयमन्त्रीलाई जिम्मेवारी दिने विषयले मन्त्रीपरिषद् बैठकमा प्रवेश नपाएको बताउँदै आउनुभएको छ । उता बिनाविभागीयमन्त्री श्रेष्ठले आफूले नियुक्ति पाएको एक महिना भइसक्दा पनि अझै जिम्मेवारी नपाएको बताउनुभयो । उहाँले आफू काम गर्न आएको भन्दै जिम्मेवारी नपाएको र मुख्यमन्त्रीबाट केही दिनमा नै टुङ्गो लाग्ने आश्वासन पाएको जानकारी दिनुभयो ।
मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बिनाविभागीयमन्त्रीलाई जिम्मेवारी दिनेबारेमा छलफल भइरहेको जानकारी दिनुभयो । “एमालेसँग कुरा भइरहेको छ,” मुख्यमन्त्री लामाले भन्नुभयो, “छिट्टै टुङ्गो लाग्ने छ, मन्त्रालय थपेर बिनाविभागीयमन्त्रीलाई जिम्मेवारी दिने गरी छलफल भइरहेको छ ।” गोरखापत्र दैनिकमा खबर छ ।










