आइसीसी विश्वकप लिग-२: जित्नैपर्ने दबाबका बीच आज क्यानडासँग खेल्दै नेपाल
थानकोट ।
नेपालले आइसीसी विश्वकप लिग- २ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै छ ।
यो खेल नेपाली समय अनुसार राति ८:४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुँदै छ ।
यस सिरिजमा लगातार दुई खेलमा हार बेहोरेर नेपाल दबाबमा रहेको छ ।
नेपालले पहिलो खेलमा क्यानडासँग १०३ रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा ओमानसँग एक विकेटले हार बेहोरेको थियो ।
लिग- २ मा नेपालले अहिलेसम्म ५ खेलमा हार बेहोरेको छ र अंक तालिकामा सातौं स्थानमा छ ।
लगातारको हारपछि नेपाल जित्नै पर्ने दबाबमा आज क्यानडासँग खेल्दै छ ।
नेपाल र क्यानडाले अहिलेसम्म ४ एकदिवसीय खेल खेलेका छन् ।
जसमा नेपालले ३ जित हासिल गरेको छ भने एक खेल क्यानडाले जितेको छ ।
त्यस्तै लिग-२ मा क्यानडाले भने अहिलेसम्म १० खेलमा ६ जित हासिल गरेको छ भने १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
यस सिरिजका लागि नेपालले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली क्यानडा पठाएको छ ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् । त्यस्तै देव खनाल ट्राभलिङ रिजर्भमा रहेका छन् ।














