कीर्तिपुरको मेयर बन्न नेपाली काँग्रेसमा आकांक्षीहरूको लर्को, टिकटको टुंगो नलाग्दै भोट माग्न सुरु

Thankot Times

थानकोट ।

मंसिर १६ का लागि तय भएको स्थानीय तहको निर्वाचनमा कीर्तिपुर नगरपालिकाले नयाँ नगरप्रमुख चुनिनेछन् ।

२०७९मा निर्वाचित मेयर राजकुमार नकर्मीको गत साउन महिनामा निधन भएपछि रिक्त पदका लागि मंसिरमा उप चुनाव हुने तिथि घोषणा भइसकेको छ । नकर्मी नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए । अहिले सोही पार्टीबाट मेयर बन्न कम्तीमा ८ जनाले इच्छा सार्वजनिक गरिसकेका छन् ।

उनीहरू अबको मेयर आफु नै भएको भन्दै मतदाताको घर-घरमा पुग्न थालेको बताइएको छ ।

कीर्तिपुरको प्रमुख अनलाइन सञ्चार माध्यम कीर्ति अनलाइनका सम्पादक प्रताप महर्जनले भने- ‘कीर्तिपुरमा उप निर्वाचनमा मेयरका आकांक्षीहरूले अहिलेदेखि नै अभियानमा थालेका छन् । आफू निकट कांग्रेसका नेताहरुसँग लबिङ गर्नेदेखि सर्वसाधारणलाई आफू नेपाली काँग्रेसको मेयरको उम्मेदवार हुने भन्दै भोट समेत माग्न थालेका छन, महर्जनले भने ।

पछिल्लो अपडेट अनुसार नेपाली काँग्रेसका तर्फबाट कीर्तिपुर नगरपालिकाको मेयर पदमा आकंक्षी राख्नेहरूमा सो पार्टीका महासमिति सदस्यदेखि सक्रिय सदस्य समेत रहेका छन् ।

कीर्ति अनलाइनमा प्रकाशित समाचार अनुसार कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा मेयर बन्न कम्मर कस्ने नेपाली काँग्रेसका नेता कार्यकर्ताहरू यसप्रकार छन्ः  

बद्रिलाल महर्जन, पांगा, कीर्तिपुर नगरपालिका वडा नं. ८, नेपाली काँग्रेस महासमिति सदस्य  

शरिर महर्जन, नयाँबजार, कीर्तिपुर नगरपालिका वडा नं. ९, नेपाली काँग्रेस काठमाण्डौ निर्वाचन क्षेत्र नं. १० सह सचिव 

जनकलाल महर्जन, पांगा, कीर्तिपुर नगरपालिका वडा नं. ८, नेपाली काँग्रेस काठमाण्डौ निर्वाचन क्षेत्र नं. १० सदस्य 

राममान सिं, लायकू, कीर्तिपुर नगरपालिका वडा नं. १, नेपाली काँग्रेस, काठमाण्डौ निर्वाचन क्षेत्र नं १० प्रदेश क का सदस्य 

हिमाल कार्की, जाखा, कीर्तिपुर नगरपालिका वडा नं. ५, कार्की नेपाली कांग्रेस काठमाण्डौ जिल्ला समिति सदस्य

कृष्णमान डंगोल, गःछेँ, कीर्तिपुर नगरपालिका वडा नं. २, नेपाली कांग्रेस कीर्तिपुर नगर समिति सभापति

मिम प्रकाश महर्जन, नगाउँ, कीर्तिपुर नगरपालिका वडा नं. ९, नेपाली कांग्रेस कीर्तिपुर नगर समितिका पूर्व सचिव 

जमुना नकर्मी, खासी, कीर्तिपुर नगरपालिका वडा नं. ३, नेपाली कांग्रेसका सक्रिय सदस्य, दिवंगत मेयर राजकुमार नकर्मीकी पत्नी

निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गराउनुपर्नेछ कार्यतालिका निर्धारण गरेको छ ।

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गरिने र त्यही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशित गरिनेछ ।

उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ ।

मंसिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

दिउँसो ३ बजेदेखि ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

मतदान सुरु हुनु ४८ घण्टा अगाडि अर्थात् मंसिर १३ गते राति १२ बजेपछि प्रचारप्रसार निषेध अवधि लागू हुने आयोगले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *