कीर्तिपुरमा कृष्णमान डंगोललाई मेयरको उम्मेदवार बनाउने नेपाली काँग्रेसको निर्णय
थानकोट ।
मंसिर १६ मा हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरको मेयरमा नेपाली काँग्रेसबाट कृष्णमान डंगोल उम्मेदवार चयन भएका छन् ।
नेपाली काँग्रेस बागमती प्रदेश संसदीय समितिको शनिबार बसेको बैठकले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका मुख्य सचिव राजु नेपालले जानकारी दिए ।
कीर्तिपुर नगरको मेयरमा सो पार्टीका नगर सभापति कृष्णमान डंगोल, अन्य नेताहरु बद्रीलाल महर्जन, हिमाल कार्की, सरिश महर्जन, जमुना नकर्मी लगायतले इच्छा देखाएपछि नाम टुंगो लगाउन आकांक्षीहरू सबैको नाम प्रदेशमा पठाइएको थियो ।
कांग्रेसको विधान अनुसार नगर प्रमुखको उम्मेदवार छनोट गर्ने अधिकार प्रदेश समितिलाई छ ।
कीर्तिपुर नगरका मेयर राजकुमार नकर्मीको गत साउन महिनामा निधन भएपछि रिक्त पदमा मंसिर १६ मा उपनिर्वाचन हुन लागेको हो । नकर्मी २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस पार्टीबाट मेयर निर्वाचित भएका थिए ।











