मन्त्रिपरिषद् बैठक बस्दै
थानकोट ।
मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
सोमबार बिहान ९ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकले पूर्व सभामुख दमननाथ ढुंगानाको अन्तिम संस्कारबारे आवश्यक निर्णय गर्ने बताइएको छ । कलेजो रोगको उपचारका क्रममा ढुंगानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा आइतबार निधन भएको थियो ।
आइतबारनै सभामुख देवराज घिमिरेले ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए । उनले आइतबार साँझ कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई फोन गरेर सरकारको ध्यानाकर्षण गराएका थिए ।
सोहीअनुसार सरकारले आवश्यक निर्णय गर्न लागेको हो ।
ढुंगानाको आज सोमबार अन्तिम संस्कार गर्ने तय भएको पारिवारिक स्रोतले जनाएको छ ।










