मंसिर १६ मा हुने उपनिर्वाचनका लागि मतपत्र छाप्ने कार्य सम्पन्न
थानकोट ।
स्थानीय तह उपनिर्वाचनका लागि मतपत्र छपाइको काम सकिएको छ ।
मंसिर १६ मा हुने सो निर्वाचनका लागि केही जिल्लामा त मतपत्रसहितका निर्वाचन सामग्री पठाइसकिएको निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।
आयोगका अनुसार २ लाख ५९ हजार मतपत्र छापिएको छ ।
मतपत्र छाप्ने काम शनिबार सम्पन्न भएको हो ।
उम्मेदवारको संख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका चुनाव चिह्न मात्र समावेश गरी मतपत्र तयार पारिएको छ । स्वीकृत डिजाइन बमोजिम प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्र छन् ।
सेतो रङको पृष्ठभूमिमा रातो रंगका अक्षर र चुनाव चिह्न मतपत्रमा प्रयोग गरिएको छ । उम्मेदवार संख्याको आधारमा प्रत्येक पालिकामा चुनाव चिह्नको संख्या फरक-फरक छन् ।
कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि तयार पारिएको मतपत्रमा २० वटा चुनाव चिह्न छन् ।
सबैभन्दा माथिल्लो लहरमा क्रमशः नेकपा एमालेको, नेपाली कांग्रेसको, माओवादी केन्द्रको र राप्रपाका चुनाव चिह्न छन् ।










