नेपाल प्रिमियर लिगः उद्घाटन खेलमा विराटनगरविरुद्ध जनकपुरको सहज जित
थानकोट ।
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा विराटनगर किंग्सविरुद्ध आठ विकेटको सहज जित निकालेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले प्रस्तुत गरेको १२८ रनको मध्यम लक्ष्य जनकपुरले १५.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । १५.३ ओभरमा १२७–२ को स्थिति हुँदा थाकेरले चौका प्रहार गर्दै जनकपुरको जित पक्का गरेका थिए ।
जनकपुरको जितमा मिलान्थाले अविजित ७५ रन बनाए । उनले ५३ बलमा नौ चौका र तीन छक्का प्रहार गरे । मिलान्थासँगै अविजित रहेका थाकेरले ३३ बलमा दुई चौकासहित २९ रन बनाए ।
जनकपुरविरुद्ध विराटनगर ब्याटिङ र बलिङ दुवैमा फितलो देखियो । विराटनगरका क्रिस सोल र प्रतिश जिसीले समान एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो ।
विराटनगरका ओपनर गप्टिलले ५५ रन बनाए । एनपीएलमा अर्धशतक बनाउने पहिलो ब्याटर बनेका गप्टिलले ४३ बलमा सात चौका र एक छक्का प्रहार गरे । अकिब इल्सासले १५ रन थपे ।
प्रतियोगितामा पर्सि सोमबार दुई खेल हुनेछन् ।
जसमा पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।














