दक्षिण अफ्रिकाका म्याथ्यु ब्रिजकेले डेब्यू खेलमै बनाए विश्व कीर्तिमान

Thankot Times

थानकोट ।

पाकिस्तान र न्युजिल्यान्डविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा दक्षिण अफ्रिकाका ओपनर म्याथ्यु ब्रिजकेले कीर्तिमान बनाएका छन्।

२६ वर्षीय म्याथ्यु ब्रिजकेले आफ्नो डेब्यू खेलमा नै १५० रन बनाएर विश्व कीर्तिमान बनाउन सफल भए। 

उनले सोमबार पाकिस्तानको लाहोरमा भएको खेलमा न्युजिल्यान्डविरूद्ध ओपनिङ गर्दै १५० रन बनाएका हुन्। उनले १४८ बल खेल्दै ११ चौका र ५ छक्का प्रहार गरे। 

म्याथ्युको उत्कृष्ट ब्याटिङको मद्दतमा दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा ३०४ रन जोडेको छ।

म्याथ्यु एकदिवसीय खेलको डेब्यूमा नै १५० रन बनाउने पहिलो खेलाडी बन्दै नयाँ कीर्तिमान बनाउन सफल भए। यसअघि डेब्यू खेलमा शतक बनाउने कीर्तिमान बने पनि कसैले पनि १५० रन बनाउन सफल भएका थिएनन्। 

एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई यसअघि तीन खेलाडीले डेब्यू खेलमा शतक बनाएका थिए। उनी डेब्यूमा शतक बनाउने चौथो दक्षिण अफ्रिकन खेलाडी बन्न सफल भए।

म्याथ्युले डेब्यू खेलमा नै सर्वाधिक रन बनाउने अर्को कीर्तिमान बनाउन सफल भए। एकदिवसीय क्रिकेटको डेब्यू खेलमा सर्वाधिक रन बनाउने यसअघिको कीर्तिमान वेस्ट इन्डिजका डेसमोन्ड हेनसको नाममा थियो। उनले सन् १९७८ मा अस्ट्रेलियाविरूद्धको डेब्यू खेलमा १४८ रन बनाएर कीर्तिमान बनाएका थिए।

सोमबार म्याथ्युले ४७ वर्षपछि उनको कीर्तिमान तोड्दै एकदिवसीय क्रिकेटमा नयाँ इतिहास लेखेका हुन्। 

यो सिरिजपछि पाकिस्तानमै नै आइसिसी च्याम्पियन्स ट्रफी सुरु हुँदैछ। यद्यपी म्याथ्यु दक्षिण अफ्रिकाको च्याम्पियन्स ट्रफि खेल्ने टोलीमा छैनन्। 

तस्वीर-गेट्टी इमेज


Leave a Reply

Your email address will not be published. Required fields are marked *