१०औं राष्ट्रिय खेलकुद: स्वर्ण पदक विजेतालाई २० हजारसम्म नगद पुरस्कार
थानकोट ।
कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहेताले व्यक्तिगत र समूहगत इभेन्टमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने व्यवस्था गरिएको जानकारी दिएका छन् ।
परिषद्का अनुसार व्यक्तिगत इभेन्टतर्फ स्वर्ण पदक विजेताले २० हजार रुपैयाँ, रजत विजेताले १५ हजार र कांस्य विजेताले ८ हजार रुपैयाँ पाउनेछन् ।
समूहगत इभेन्टतर्फ स्वर्ण विजेतालाई १५ हजार, रजतलाई १० हजार र कांस्य विजेतालाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
मेहेताका अनुसार ३२ वटै खेल विधामा पदक जित्ने खेलाडीलाई पदकसँगै उक्त नगद पुरस्कार प्रदान गरिनेछ । खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।
दसौँ राष्ट्रिय खेलकुदको तयारीका क्रममा बसेको मूल समारोह तथा आयोजक समितिको बैठकमा खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने विषयमा समेत छलफल भएको थियो । बैठकमा प्रतियोगिताको तयारी, खेलस्थल, खेलाडीको आवास तथा अन्य व्यवस्थापनका विषयमा समेत छलफल गरिएको थियो ।
दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म कर्णालीमा सञ्चालन हुँदैछ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ ९एनआरएन० गरी ११ टोली सहभागी हुनेछन् ।













