च्याम्पियन्स लिगको उपाधि पीएसजीलाई
थानकोट ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले क्लबको इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
फाइनलमा इटालियन क्लब इन्टर मिलानविरुद्ध ५–०को जित निकाल्दै पीएसजी लिगको नयाँ च्याम्पियन बनेको हो ।
शनिबार राति म्युनिखस्थित एलियन्ज रंगशालामा सम्पन्न खेलमा पीएसजीलाई जित दिलाउन डिजायर डोइले दुई गोल गरे ।
अक्रफ हाकिमी, खभिचा काभात्स्खेलिया र सेनी मायुलुले समान एक गोल थपे ।
पीएसजीले पहिलो हाफमा दुई र दोस्रो हाफमा तीन गोल थपेको हो ।
खेलको १२औँ मिनेटमा हाकिमीको गोलमा पीएसजीले अग्रता बनाएको थियो ।
२०औँ मिनेटमा डिजायर डोइले फ्रेन्च क्लबको अग्रता दोब्बर बनाएपछि पीएसजीले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।
६३औँ मिनटमा डोइले नै पीएसजीको अग्रतालाई ३–० मा पुर्याए । ७३औँ मिनेटमा काभात्स्खेलियाले गोल गर्दै प्रशिक्षक लुइस एनरिकेको टोलीलाई ४–० को अग्रतामा राखे ।
यस्तै, खेलको निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा मायुलुले गोल गरेपछि पीएसजीले ५–० को जित पक्का गरेको हो ।
सन् १९७० मा स्थापना भएको पीएसजीले क्लबको इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।
यता, प्रशिक्षक एनरिकेले भने १० वर्षपछि च्याम्पियन्स लिगको उपाधि चुमे ।
यसअघि प्रशिक्षक एनरिकेले सन् २०१५ मा बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि चुमेका थिए ।












