बंगलादेश ४६ वर्षपछि एसियन कप फुटबलको लागि छनोट
थानकोट ।
दक्षिण एसियाली टोलीबाट बंगलादेशले अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपको २१ औं संस्करणमा स्थान सुरक्षित गरेको छ ।
छनोटअन्तर्गत समूह सी मा रहेको लगातार दोस्रो जिन हासिल गरेर बंगलादेश अर्को वर्षमा हुने एसियन कपको लागि छनोट भएको हो । बंगलादेशले पहिलो खेलमा बहराइनलाई ७–० र दोस्रो खेलमा म्यानमारलाई २–१ ले हराएको हो ।
अन्तिम खेलमा नतिजा आफ्नो पक्षमा नआएपनि बंगलादेशले ‘हेड टु हेड’मा बाँकी तीन टोलीलाई पछाडि पार्ने समीकरण बनेकोले नै छनोट हुने तय छ ।
बंगलादेशले समूहको अन्तिम खेलमा शनिबार तुर्कमिनिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
दुई खेल सकिँदा तुर्कमिनिस्तान र बहराइनको समान एक अंक छ भने म्यानमारले तीन अंक जोडेको छ ।
बंगलादेशी फुटबलले ४६ वर्षको लामो प्रतिक्षापछि एएफसीको मुख्य प्रतियोगिता खेल्न लागेको हो ।
सन् १९८० मा बंगलादेश पुरुष राष्ट्रिय टोलीले एसियन कप खेलेको थियो ।
नेपालको भाग्य शनिबार तय हुने
दक्षिण एसियाकै अर्को टोली नेपाल पनि पहिलो पटक एसियन कपमा खेल्न एक जित टाढा रहेको छ । नेपाली महिला राष्ट्रिय टोली समूह एफ अन्तर्गत दुई खेलमा सानदार जित निकालेर ऐतिहासिक क्षणको पर्खाईमा रहेको छ ।
नेपालले पहिलो खेलमा लाओसलाई ९–० र दोस्रो खेलमा श्रीलंकालाई ८–० ले हराएको थियो ।
अन्तिम खेल शनिबार आयोजक टोली उज्बेकिस्तानसँग जितेमा नेपालले फुटबलमा ऐतिहासिक सफलता प्राप्त गर्नेछ ।
तर, यस समूहमा उज्वेकिस्तानले पनि दुई खेलमा शानदार जित हासिल गरिसकेको छ । उज्वेकिस्तानले श्रीलंकालाई १०–० र लाओसलाई ७–० ले हराएको थियो । यही प्रदर्शनले गर्दा नेपालको लागि उज्वेक टोली बाधक बन्न सक्ने सम्भावना पनि छ ।
यदि, बराबरी भएमा फेयर प्लेको आधार लिइनेछ यदि, त्यो पनि बराबरी भएमा खेल पेनाल्टी शूटआउटमा जाने बताइएको छ ।
भारतको सामना थाइल्यान्डसँग
दक्षिण एसियाली टोली भारत समूह बी मा थाइल्यान्डसँग बराबरीमा रहेको छ । दुवै टोलीले ३–३ खेल खेल्दा समान ९ अंक र समान गोल भिन्नता (२२) रहेको छ । यी दुई टोलीबीच शनिबार नै खेल हुनेछ । यस खेलमा जुन टोली जित्छ त्यही टोली एसियन कपको लागि छनोट हुनेछ ।
पाकिस्तानको संभावना भने छैन
दक्षिण एसियाकै एक टोली पाकिस्तान समूह डी मा रहेको छ ।
समूहमा दुई खेल खेलेको पाकिस्तानको ३ अंक रहेको छ । चाइनिज ताइपेइसँग ८–० ले हारेको पाक टोलीले अन्तिम खेलमा किर्गिस्तानलाई ठूलो अन्तरले हराउनु पर्ने हुन्छ ।
अर्को खेलमा चाइनिज ताइपेइ इन्डोनेसियासँग ठूलो अन्तरले हार्नु पर्ने हुन्छ । तर, यो समीकरण असहज देखिएको हुँदा पाकिस्तानको एसियन कप खेल्ने लक्ष्य पुरा नहुने संभावना बढी रहेको छ ।












