टी-२० विश्वकपः एशिया, पूर्वी एशिया प्यासिफिक क्षेत्र छनोटमा नेपाल, कुवेत र जापान एकै समुहमा
थानकोट ।
आईसीसी टी-२० विश्वकप एशिया र पूर्वी एशिया-प्यासिफिक क्षेत्रको संयुक्त छनोटमा नेपाल समूह ‘२’ मा परेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बिहीबार प्रतियोगितामा सहभागी रहने ९ टोलीलाई ३ समूहमा विभाजन गरेको हो ।
समूह ‘२’ मा नेपालसहित, कुवेत र जापान छन् । समूह ‘१’ मा संयुक्त अरब इमिरेट्स (यूएई), मलेशिया र कतार रहेका छन् । समूह ‘३’ आयोजक ओमान, पपुवा न्यु गिनी (पीएनजी) र सामोआ रहेका छन् ।
हरेक समूहका शीर्ष २ टोली ‘सुपर सिक्स’ मा पुग्नेछन् ।
‘सुपर–सिक्स’ का शीर्ष ३ टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।
ओमानमा हुने एशिया र पूर्वी एशिया–प्यासिफिक छनोट आउँदो अक्टोबर ८ देखि १७ सम्म सञ्चालन हुनेछ ।
नेपालसहित ओमान, पीएनजी र यूएईले यसअघि टी–२० विश्वकप खेलिसकेका छन् ।













