रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठक बहिष्कार गरे, स्पेन प्रकरणबारे प्रधानमन्त्रीको जवाफ माग
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिनको विषय उठाउँदै उनीहरूले बैठक बहिष्कार गरेका हुन् ।
सभामुख देवराज घिमिरेले बैठक शुरू भएको जानकारी गराएलगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपाकी सांसद सुमना श्रेष्ठलाई बोल्न दिनुभयो । उहाँले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुसार छानबिन गर्न समिति नबनाइएकोले विरोध गरिरहने अडान राख्नुभयो ।
सांसद श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी स्पेनको कार्यक्रममा गएका नेपालीहरू नफर्किएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने मागसमेत गर्नुभएको छ ।
त्यसपछि सभामुख घिमिरेले राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोल्ने समय दिनुभयो । उहाँले पनि भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग यथावत् नै रहेको र विरोध निरन्तर रहने बताउनुभयो ।
आजको बैठकमा नेकपा (माओवादी केन्द्र) ले कर्मचारी सरुवामा मन्त्रीबाटै घुस डिल भइरहेको भनेर आएका समाचारको विषयमा सरकारको जवाफ मागेको छ । बैठकमा बोल्दै माओवादीकी सांसद रेखा शर्माले यस विषयमा प्रधानमन्त्रीको जवाफ माग्नुभएको हो ।












