प्रधानमन्त्रीलाई काँग्रेसका महामन्त्री गगन थापाको आग्रह- मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्नुस

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न माग गरेका छन् । 

कांग्रेस, बुद्धिजीवी तथा पेसागत विभागले सोमबार आयोजना गरेको ‘विपद् व्यवस्थापन : चुनौती, अवसर र भावी कार्यदिशा’ विषयक छलफलमा उनले घुस काण्डको अडियो सार्वजनिक भएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता आफैँले राजीनामा दिएर छानबिन गर भन्नुपर्नेमा त्यस्तो नभएकाले प्रधानमन्त्रीसमक्ष बर्खास्त गर्न माग गरे ।

मन्त्री गुप्तालाई बर्खास्त गरी छानबिन गरेर यस घटनामा दोषी देखिएकालाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । कानुनभन्दा माथि कोही नहुने भएकाले गल्ती गर्नेलाई कारबाही गरिनुपर्ने, कुनै पार्टी वा अन्य नाममा छुट दिन नहुनेमा उनको जोड थियो ।

संविधान संशोधनका क्रममा न्यायपालिकालाई पुनःसंरचना गरिनुपर्ने पनि महामन्त्री थापाले बताए । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको समूहले बनाएको प्रतिवेदन लागू गरेर न्यायपालिका पुनःसंरचना गरिनुपर्ने उनको धारणा छ । 

अनुशासनका नाममा पार्टीभित्र पछिल्लोपटक गरिएको कारबाही कोतपर्वको अर्को रूप भएको पनि महामन्त्री थापाले उल्लेख गरे । यसले पार्टीलाई कमजोर बनाउने र सत्प्रयासलाई बल नपुग्ने बताए । मधेश प्रदेशमा पानी नपरेका कारण धान रोप्न नपाएको उल्लेख गर्दै महामन्त्री थापाले कलको पानी पनि सुक्दा तराईवासी समस्यामा परेको बताए ।

तीनै तहका सरकारले खुला ठाउँ छोड्न नचाहँदा विपद्का बेला समस्या हुने गरेकाले बेलैमा ध्यान दिन उनले सचेत गराए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *