नेकपा एमालेमा सदस्य भइरहन अब हरेक वर्ष जाँच दिनुपर्ने
थानकोट ।
नेकपा एमालेले सदस्यता नवीकरण गर्नु पूर्व अब अनिवार्य परीक्षा दिनुपर्ने प्रावधान बनाएको छ।
सोमबार बसेको एमालेको केन्द्रीय संगठन विभाग बैठकले यस्तो निर्णय गरेको हो।
सोमबारको बैठकका निर्णय सार्वजनिक गर्दै केन्द्रीय संगठन विभागमा सचिव माधव ढुंगेलले जारी गरेको विज्ञप्तिमा उक्त कुरा उल्लेख छ।
विज्ञप्तिमा पार्टी सदस्य सम्बन्धी बुँदामा ‘सदस्यता नवीकरण पूर्व अनिवार्य रूपमा परीक्षा दिनुपर्ने (यथासम्भव अनलाइन फर्म भर्नुपर्ने) व्यवस्थामा जाने’ भन्ने कुरा उल्लेख छ।
यस्तै हरेक वर्ष तोकिएको समयमा सदस्यता नवीकरण गर्ने कामलाई कडाइका साथ स्थापित गर्ने अर्को निर्णय पनि उल्लेख छ।
पार्टी केन्द्रीय कमिटीले ०८२/८३ का लागि जारी गर्ने वार्षिक कार्य योजनाको प्रकाशमा प्रस्तुत कार्य योजनामा आवश्यक परिमार्जन गरिनेछ ।
बैठकले गरेका निर्णयहरूः
१. अनुगमनको रिपोर्ट आधारित कार्ययोजना बनाउने-
बैशाखमा बसेको २२औं बैठकको निर्णय बमोजिम विभागका सदस्यहरूलाई पार्टीको संगठनात्मक कामको अनुगमन गर्न कार्यक्षेत्र किटान गरी दिइएको जिम्मेवारीको व्यवस्थित रिपोर्टिङ लिइयो । स्थानीय तहका पार्टी सञ्चालन प्रक्रिया, बैठक सञ्चालन, निर्णय प्रक्रिया, कामको संयोजन, कार्यशैली, जनप्रतिनिधि र पार्टी नेतृत्व बीचको सम्बन्ध, लेखा प्रणालीको व्यवस्थापन, कार्यालय सञ्चालन, सदस्यता नवीकरण तथा विस्तार लगायतका आन्तरिक पार्टी जीवनका बारेमा २१ बुँदा आधारित अनुगमनबाट प्राप्त भएको यथार्थ अबस्थालाई पहिचान गरी संगठन सुदृढीकरणका थप योजना निर्माण गर्ने बैठकले सङ्कल्प गरेको छ ।
२. वडा–केन्द्रित पार्टी निर्माण अभियानको समीक्षा गरियो । समीक्षाको सार निम्नानुरूप प्रस्तुत गरिएको छ –
क. केन्द्रीय संगठन विभागको प्रस्तावमा पार्टी केन्द्रीय कमिटीको निर्णयमा माघ, फागुन र चैत्रमा सञ्चालन गरिएको वडा–केन्द्रित पार्टी निर्माण अभियान (जरा अभियान) को प्रारम्भिक समीक्षा गर्दा अभियानमा पार्टी गतिविधि बढेको, स्थानीय पार्टी चलायमान भएको, मातहतका अधिकांश स्थानीय पार्टी कमिटीका अधिवेशनहरू सम्पन्न भएका, पार्टी सदस्यता नवीकरण र विस्तारको काममा प्रगति भएको, जनतासँग पार्टी नेता कार्यकर्ताहरूको सम्बन्धमा सुधार आएको, समय पुगेका जनसंगठनका महाधिवेशन र अधिवेशनहरू भएका र उनीहरू क्रमशः आफ्नो समुदायमा स्थापित हुँदै गएको देखिन्छ । अभियानले जिम्मेवारी प्राप्त पार्टी नेता कार्यकर्ताहरूको सक्रियता बढाएको र निर्णय कार्यान्वयनमा सुधार आएको महसुस भएको छ । अभियानको पछिल्लो अवधिमा राजावादी प्रतिगामी हर्कतका बिरुद्ध जनसचेतनाका गतिविधि गर्नुपरेका कारण जरा अभियानका निर्धारित काममा केन्द्रित हुन सम्भव भएन । जे होस् अभियानमा गर्ने भनिएका कामहरूलाई प्रत्येक कमिटीले निरन्तरता दिन जरूरी छ ।
ख. सम्पूर्ण जिल्ला अधिवेशनहरू सम्पन्न भएका, ९८ प्रतिशत पालिका अधिवेशनहरू सम्पन्न भएका, ८५ प्रतिशत वडा अधिवेशनहरू सम्पन्न भएका, १० हजार भन्दा बढी टोल कमिटीहरू बनेको र पार्टी थप मजवुत र व्यवस्थित भएको निस्कर्ष निकालियो ।
ग. पार्टी सम्वद्ध २३ वटा जनसंगठनहरूको केन्द्र र प्रदेशका सम्पूर्ण अधिवेशनहरू सम्पन्न भएका, आमरूपमा जिल्ला अधिवेशनहरू सम्पन्न भएका र ६० प्रतिशत पालिकास्तरका अधिवेशनहरू सम्पन्न भएका र कतिपय जनसंगठनहरूले त वडा तहसम्म पनि कमिटी विस्तार गरेको र संगठनात्मक रूपमा जनसंगठन व्यवस्थित बनाउँदै लगेको निष्कर्ष निकालियो ।
घ. पार्टीको भूगोलका जिल्ला अधिवेशन २८ वटा सहमतिबाट र ४९ वटा निर्वाचन प्रक्रियाबाट नेतृत्व निर्माण भएको साथै सहमति हुन नसकेका जनसंगठनका केन्द्रीय अधिवेशनहरू पनि निर्वाचनको प्रक्रियाबाट सम्पन्न भएको तथ्यलाई हेर्दा नेकपा (एमाले)को आन्तरिक जीवनमा राम्रो लोकतान्त्रिक अभ्यास भएकोे निष्कर्ष निकालियो ।
ङ. पछिल्लो समय हाम्रो पार्टी र नेतृत्वमाथि गरिएको हमला र गलत अफवाहको जमेर प्रतिवाद गर्न पार्टीपङ्क्तिलाई गरेको निर्देशन र तयारी अझै नपुगेको निष्कर्ष निकालियो ।
च. पार्टी कमिटी वा जनसंगठनका अधिवेशनका क्रममा जिम्मेवारी बाहिर पर्नुभएका नेता÷कार्यकर्ता कमरेडहरूको यथाशीघ्र उपयुक्त जिम्मेवारी व्यवस्थापन गर्न सम्बन्धित नेतृत्वलाई अनुरोध गर्ने निर्णय गरियो ।
छ. जरा अभियान जस्तै अभियान लिएर जनताको घर–घरसम्म पुग्ने र जनसेवा गर्ने काममा निरन्तरता दिनुपर्ने आवश्यकता गहिरोगरी महसुस गरियो ।
३. बैठकले विभाग प्रमुख काशीनाथ अधिकारीद्वारा प्रस्तुत केन्द्रीय संगठन विभागको २०८२÷८३ को वार्षिक कार्ययोजनाको प्रारम्भिक खाका पारित गरेको छ –
क. विधान महाधिवेशनको तयारीका सन्दर्भमा विधान संशोधन र संगठनात्मक दस्तावेजका लागि माग गरिएका बिषयमा पार्टी नेतृत्वलाई समग्र संगठनात्मक रिपोर्ट, आवश्यक विवरण र सुझाव दिने ।
ख. पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन संगठनात्मक क्षेत्रका काममा व्यवस्थित योजनाका साथ विभागलाई निरन्तर सक्रिय बनाउने ।
ग. नेकपा (एमाले)का खास मूल्यहरू (कोर भ्यालुज) स्थापित गर्न र पार्टीलाई डिजिटलाइज प्रणालीमा अभ्यस्त गराउन विशेष अभियान चलाउने ।
घ. पार्टी सदस्य सम्बन्धीः
सदस्यता नवीकरण–पूर्व अनिवार्यरूपमा परीक्षा दिनुपर्ने (यथासम्भव अनलाइन फर्म भर्नुपर्ने) व्यवस्थामा जाने ।
हरेक बर्ष तोकिएको समयमा नवीकरण गर्ने कामलाई कडाइका साथ स्थापित गर्ने ।
सम्पूर्ण सदस्यलाई अनलाइनमा अभिलेखीकरण गर्ने काम सम्पन्न गर्ने ।
सदस्यता विस्तारमा निरन्तर जोड दिइरहने र मतदाताको छ प्रतिशत सङ्ख्या पुर्याइछाड्ने ।
सबै तहका पार्टी कमिटीमा लघु–प्रशिक्षण सहितका बैठकको परिपाटी बसालेर स्तर–उन्नत गर्ने ।
ङ. सम्पूर्ण टोल तहसम्म (करिव १७ हजार टोलमा) पार्टी कमिटीहरू गठन गर्ने, सुचारु गर्ने र अधिवेशन गराउने ।
च. सबै जिल्लामा नेकपा (एमाले)को समग्र संगठनात्मक प्रोफाइल तयार पार्ने ।
छ. जनसंगठनका पिँधसम्मका कमिटी निर्माण गरिसक्ने । ‘समुदायसंग जनसंगठन’ अभियान चलाउने ।
ज. ‘दुई पुस्ता संगसंगै’ बिशेष कार्यक्रम चलाउने । हरेक वडामा अग्रज सम्मान र युवा प्रशिक्षण कार्यक्रम संगसंगै आयोजना गर्ने ।
झ. पार्टी कमिटीको संस्थागत क्षमताको विकास, कार्यालय सञ्चालन, व्यवस्थापन, डिजिटलाइजेसन र संगठनात्मक डाटा व्यवस्थापन प्रणालीको विषयमा प्रदेश स्तरमा कार्यशाला आयोजना गर्ने ।
ञ. पार्टी केन्द्रीय कमिटीले ०८२÷८३ का लागि जारी गर्ने बार्षिक कार्ययोजनाको प्रकाशमा प्रस्तुत कार्ययोजनामा आवश्यक परिमार्जन गरिनेछ ।
४. पार्टी विधान संशोधनका सम्बन्धमाः
आगामी भाद्र २०–२२ मा आयोजना गरिएको पार्टीको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधनका विषयमा पार्टी केन्द्रीय कमिटीको बैठक पश्चात जारी हुने संशोधनको प्रस्तावमा मर्यादित ढङ्गले सक्रियतापूर्वक छलफलमा भाग लिन र आवश्यक सुझाव पठाउन सम्पूर्ण पार्टी कमिटी र सदस्यहरूलाई बैठकले आह्वान गरेको विभाग सचिव माधव ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।












