विश्व टिम टेबलटेनिस च्याम्पियनसिपः नेपालको यात्रा छनोट चरणबाटै समाप्त

Thankot Times

थानकोट ।

दक्षिण एसियाली छनोट प्रतियोगितामा दोस्रो स्थानमै सीमित भएपछि नेपाल विश्व टिम टेबलटेनिस च्याम्पियनसिपको यात्रा तय गर्न असफल भएको छ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहीबार सम्पन्न छनोट प्रतियोगितामा अपराजित रहँदै भारत छनोट हुँदा राउन्ड रोविन लिगमा नेपाल दोस्रो भएको हो। भारतको पुरुष/महिला दुवै टोलीले बिहीबार सफलता पाएका हुन्।

अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगितामा नेपाल पुरुषमा दोस्रो र महिलामा भने तेस्रो स्थानमा नै सीमित भयो। पुरुष/महिलामा समान पाँच राष्ट्र सहभागी थिए। पुरुषमा नेपाल दोस्रो हुँदा माल्दिभ्स र श्रीलंका संयुक्त रूपमा तेस्रो भए। महिला भने श्रीलंका दोस्रो हुँदा नेपाल र माल्दिभ्स तेस्रो स्थामा खुम्चिए। पुरुष र महिला दुवैमा भारतले माल्दिभ्स, नेपाल, श्रीलंका र बंगलादेशलाई समान ३–० को नतिजामा हरायो।

यससँगै भारतले सर्वाधिक आठ अंक जोड्यो। अब भारतको पुरुष/महिला टोली इङ्ल्यान्डमा सन् २०२६ को सेप्टेम्बरमा हुने विश्व टिम टेबल टेनिस च्याम्पियनसिपका लागि छनोट भएका छन्। पुरुषमा नेपालले सात अंक बटुल्यो। नेपाल भारतसँग मात्र पराजित भएको थियो।

नेपालले पहिलो दिन बुधबार श्रीलंकालाई ३–०, माल्दिभ्सलाई ३–१ र बंगलादेशलाई ३–२ को सेटमा पराजित गरेको थियो। महिलामा नेपालले ६ अंक जोड्यो। नेपालले समान दुई राष्ट्रसँग जित र हार सामना गर्नुपर्‍यो। नेपालले माल्दिभ्स र बंगलादेशलाई समान ३–० ले हराएको थियो। तर, नेपाल भारतसँग ३–० पराजित भयो।

त्यसपछि नेपाल श्रीलंकासँग पनि ३–२ को कठिन सेटमा हार बेहोर्न बाध्य भयो। श्रीलंका सात अंकसाथ दोस्रो स्थानमा रह्यो। नेपाली पुरुष टोलीमा संयोग कपाली, रुविन महर्जन, राजीव चिकन्बञ्जार र गनन्जय दाहाल थिए। नेपाली महिला टोलीका सदस्य वियंका राई, इभाना थापा, नविता श्रेष्ठ र योङ्गी पौडेलले प्रतिस्पर्धा गरेका थिए। नेपाली टोलीको मोहनदास बासुकला मुख्य प्रशिक्षक थिए। उनको प्रशिक्षण टोलीमा सञ्जीवकुमार ढुंगेल र सन्ध्या शाक्य प्रशिक्षकको जिम्मेवारीमा थिए।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, महासचिव कुवेरप्रकाश सिंह, उपाध्यक्ष पूर्णशंकर श्रेष्ठ, कोषाध्यक्ष ज्याकी महर्जन र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतले पुरस्कृत गरेका थिए। दुईदिने प्रतियोगितामा भारतका १० खेलाडी, घरेलु टोली नेपालसँगै श्रीलंका, बंगलादेश र माल्दिभ्सका समान आठ गरी ३४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *