माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

Thankot Times

थानकोट ।

सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप बालिका तथा किशोरीहरुलाई लगाउने भएको छ । स्वास्थ्य सेवा विभागकाे बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले यही माघ तेस्रो सातादेखि देशव्यापी अभियानका रूपमा एचपीभी खोप लगाइने जानकारी दिए ।

खोप अभियानअन्तर्गत यसवर्ष विद्यालय भर्ना भएका कक्षा ६ मा पढ्ने छात्रा र विद्यालय भर्ना नभएका १० वर्ष उमेर समूहका बालिकाहरुलाई खोप लगाइने उनले जानकारी दिए । ‘कक्षा ६ मा पढ्ने ११ र १२ वर्षसम्मका छात्राले पनि खोप पाउने छन्,’ उनले भने, ‘फागुनको पहिलो हप्तासम्म लक्षित किशोरी तथा बालिकाहरुलाई खोप लगाइसक्ने हाम्रो तयारी छ ।’

अहिले खोप लगाउने स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिरहेको पनि उनले जानकारी दिए ।  सरकारले गत वर्ष २२ माघदेखि ६ फागुनसम्म देशभरि कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई खोप लगाएको थियो ।

शाखा प्रमुख गौतमले गत वर्ष खोप लगाउन छुटेका बालिकाहरुलाई पनि यसवर्ष खोप प्रदान गरिने जानकारी दिए । गत वर्ष छुटेका ११ देखि १४ वर्षसम्मका बालिकाहरूलाई यसपटक खोप लगाइने छ । उनका अनुसार यसवर्ष करिब तीन लाख ५० हजार बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने छ ।

सरकारले उक्त खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा चीनबाट नेपाल आइपुगेको उनले जानकारी दिए । नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस संक्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ