आईसीसी महिला च्यालेन्ज ट्रफी खेल्न नेपाली टोली रुवान्डा प्रस्थान
थानकोट ।
आईसीसी महिला च्यालेन्ज ट्रफी खेल्न नेपाली राष्ट्रिय महिला टाेली बुधबार (बैशाख २) रुवान्डा प्रस्थान गरेको छ ।
सो अघि बुधबार नै टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले सफलताको शुभकामना दिँदै बिदाइ गरेको थियो ।
यही वैशाख ५ देखि वैशाख १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, भानुआतु र इटाली सहभागी छन् ।
नेपालले वैशाख ५ गते अमेरिकासँग खेल्दै प्रतियाेगिताकाे शुरुआत गर्नेछ । यस्तै नेपालले वैशाख ६ गते इटालीसँग, वैशाख ९ गते रुवान्डासँग, वैशाख ११ गते भानुआतुसँग, वैशाख १३ गते अमेरिकासँग, वैशाख १५ गते रुवान्डासँग, वैशाख १७ गते भानुआतुसँग र वैशाख १८ गते इटालीसँग खेल्नेछ ।
डबल राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष स्थानमा रहने टाेली विजेता बन्नेछ ।
नेपाली टोलीमा कप्तान इन्दु वर्मा, उपकप्तान पूजा महतोसहित रुवि पोदार, रोमा थापा, बिन्दु रावल, रुविना क्षेत्री, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, अनु कडायत, सुमन विष्ट, रिया शर्मा, रचना चौधरी र मनिषा उपाध्याय रहेका छन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा हर्षल पाठक रहेका छन् ।
तस्बिरः क्यान












