प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
थानकोट ।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
त्रिभुवन आर्मीले अपराजित रहँदै प्रतियोगिताको उपाधि जितेको छ ।
शुक्रबार वीरगञ्जको नारायणी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै आर्मीले तेस्रोपटक उपाधि जितेको हो ।
सुदूरपश्चिमले दिएकाे १ सय ६२ रनको लक्ष्य आर्मीले ३३.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्याे ।
आर्मीका लागि इमरान शेखले अविजित ४६ रन बनाए भने बसिर अहमदले ४५ रन बनाए ।
सुदूरपश्चिमका लागि हेमन्त धामीले २ विकेट लिँदा शेर मल्ल, अशोक धामी र विकास आग्रीले १-१ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले ३९.४ ओभरमा अलआउट हुँदै १६१ रन बनाएको थियो । सुदूरका खेलाडीको ब्याटिङ निराशाजनक रह्यो ।
उसका लागि अशोक धामीले सर्वाधिक ४३ रन बनाए । उनले ४६ बलमा ५ चाैकासिहत एक छक्का प्रहार गरे । किरण ठगुन्नाले २५ तथा नारायण जोशीले २९ रन बनाए ।












