एकदिवसीय अभ्यास खेलमा नेपाल ए विजयी
थानकोट ।
एकदिवसीय अभ्यास खेलमा नेपाल एले अमेरिकाविरुद्ध जित निकालेको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य नेपालले ४९.१ ओभरमा सात विकेटको क्षतिमा पूरा गरेको हो ।
नेपाल एका लागि मयन यादवले सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ खेले ।
कुशल मल्लले ३३, कप्तान अनिलकुमार साहले २७, सन्दीप जोराले ३६, बसिर अहमदले १८ तथा तृतराज दासले २३ रनमा बनाए । पवन सरार्फ २४ रनमा अविजित रहे ।
अमेरिकाका लागि मिलिन्द कुमारले २ तथा नोस्तुष केन्जिके, रुशिल उगारकर, सञ्जय कुष्णमुर्थी, सौरभ नेत्रभाल्कर र हरमित सिंहले समान एक–एक विकेट लिए । यसअघि पहिला ब्याटिङ गर्दै अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६२ रन बनाएको थियो । अमेरिकाका लागि स्मित पटेलले शतकीय पारी खेले । उनले १०७ बल खेल्ने क्रमा १० चौका र ५ छक्कासहित ११६ रन बनाए ।
त्यस्तै हरमित सिंहले अविजित २५, जसदीप सिंहले अविजित ३३ रन, शायन जहाँगिरले ९, कप्तान मोनाङ्क पटेलले २०, सैतेजा मुक्कामल्लाले १०, मिलिन्द कुमारले ७, शुभम रञ्जनेले १६, सञ्जय कृष्णमुर्तीले १५ तथा शेहान जयसूर्याले ७ रन बनाए ।
बलिङतर्फ नेपाल ‘ए’ का लागि पवन सर्राफले २ तथा विपिन खत्री, शाहब आलम, बसिर अहमद, शेर मल्ल, राशिद खान र नारायण जोशीले एक–एक विकेट लिएका थिए ।










