थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा जेल मुक्त

Thankot Times

थानकोट ।

थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गरी मुक्त भएका छन् ।

उनी सोमबार राजधानी बैङ्ककको जेलबाट रिहा भएका हुन् ।

भ्रष्टाचारको आरोपमा एक वर्षको सजाय पाएका थाक्सिनले आठ महिना जेल सजाय भोगेका हुन् । न्याय मन्त्रालयको एक समितिले उनको राम्रो आचरण, बढ्दो उमेर र पुनः अपराधको कम सम्भावनालाई ध्यानमा राख्दै उहाँको लागि ‘प्यारोल’ स्वीकृत गरेको छ ।

दशकौँदेखि विवाद र राजनीतिमा ध्रुवीकरणको केन्द्रमा रहेका थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन स्थानीय समय अनुसार सोमबार बिहानै जेलबाट रिहा भएका हुन् । उनको स्वागतका लागि बैङ्ककको केन्द्रीय कारागार ‘क्लोङ प्रेम’ बाहिर केही सङ्ख्यामा समर्थक र आफन्त भेला भएका थिए ।

रिहाइपछि पहिलो पटक सार्वजनिक रूपमा देखिएका सिनावात्राले सञ्चारमाध्यमसँग भने कुनै प्रतिक्रिया नदिएको समाचार संस्था एएफपीले जनाएको छ । दूरसञ्चार व्यवसायमा आबद्ध अर्बपति व्यापारी थाक्सिनले सन् १९९८ मा आफ्नै राजनीतिक पार्टी गठन गरेका थिए र सन् २००१ मा थाइल्याण्डको प्रधानमन्त्री बनेका थिए ।

सन् २००६ मा सेनाले ‘कू’ गरेर उहाँको सरकार अपदस्थ गरेको थियो । उनलाई शक्तिको दुरुपयोग, आफ्नो व्यापारिक हितलाई फाइदा पुर्‍याएको र सरकारी चिट्ठा परियोजनामा अनियमितता गरेको आरोप लगाइएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *