आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपाल स्कटल्यान्डसँग २ रनले स्तब्ध

Thankot Times

थानकोट ।

नेपाल आईसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्यान्डसँग डीएलएस प्रणालीका आधारमा दुई रनले पराजित भएको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा स्कटल्यान्डले घरेलु टोलीलाई २४४ रनको लक्ष्य दिएको थियो । तर, दोस्रो इनिङ वर्षाका कारण प्रभावित भएपछि अम्पायरले लक्ष्यलाई २२१ रनमा छोट्याउँदै उक्त लक्ष्य ३९ ओभरमा भेट्टाउन पर्ने घोषणा गरेका थिए । जसमा २२१ रनको लक्ष्य पछ्याएको घरेलु टोली २१८ रनमा समेटिएको हो ।

नेपाललाई सस्तैमा रोक्न स्कटल्यान्डका ब्राड करीले तीन विकेट लिए । मार्क वाटले दुई विकेट लिँदा ओलिभर डेविडसन र ज्याक ग्रेभिसले समान एक विकेट लिए ।

नेपालका गुल्सन झाले ६१ रनको अर्धशतकीय पारी खेले । अविजित रहेका गुल्सनले ३५ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे ।

उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५५ रन बनाउँदै दोस्रो अर्धशतकीय पारी खेले । ऐरीले ४९ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । उनले कप्तान रोहित पौडेलसँग चौथो विकेटको निम्ति ७६ रनको अर्धशतकीय साझेदारी गरेका थिए ।

रोहितले ३२ रन बनाए । २५.४ ओभरमा ‘स्कुप सट’ प्रहार गर्ने क्रममा उनी बोल्ड भएका थिए । ओपनर आशिफ शेखले २१ रन बनाए । करण केसीले १८ र ओपनर विनोद भण्डारीले १० रन बनाए ।

त्यसअघि पहिलो इनिङमा टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २४३ रनको योगफल खडा गरेको थियो । स्कटल्यान्डका जर्ज मुन्सीले ७५ रनको अर्धशतकीय इनिङ खेले । उनले ६२ बलमा १२ चौका र दुई छक्का प्रहार गरे ।

फिन्ले म्याककिएथले ३५ र माइकल इंग्लिसले अविजित ३४ रनको योगदान दिँदा माइकल लिस्कले २९, मार्क वाटले २४ र म्याथ्यु क्रसले १८ रन बनाए । पहिलो विकेटका लागि मुन्सी र म्याककिएथले ११४ रनको साझेदारी गरेका थिए ।

सन्दीप लामिछानेले यो शतकीय साझेदारी तोडे । नेपालका सन्दीप लामिछानले सर्वाधिक चार विकेट लिए । १० ओभर बलिङ गरेका उनले एक मेडनसहित ४१ रन खर्चिए । करण केसीले र नन्दन यादवले समान दुई विकेट हात पारे ।

जितसँगै स्कटल्यान्डले तालिकामा ३६ अंक बनाएको छ । तालिकाको दोस्रो स्थानमा रहेको स्कटल्यान्डले २९ खेलमा १५ जित र आठ हारसहित यो नतिजा आत्मसाथ गरेको हो । टोलीको ६ खेल भने रद्द भएको थियो । स्कटल्यान्ड शीर्ष स्थानको अमेरिकासँग समान ३६ अंक बनाए पनि रनरेटको आधारमा पछाडी छ ।

हारसँगै नेपालको भने शीर्ष चार सम्भावना कठिन बनेको छ । तालिकाको सातौँ स्थानमा रहेको नेपाल २५ खेलमा १८ अंकमा सीमित छ । नेपालले आठ जित र १५ हार व्यहोरेको छ । टोलीको दुई खेल भने रद्द भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ