फिफा वरीयतामा नेपाली पुरुष तथा महिला टोली दुवैको सुधार

Thankot Times

थानकोट ।

विश्व फुटबल महासंघ (फिफा) वरीयतामा नेपाली राष्ट्रिय फुटबल टिम ६ स्थान उक्लिएको छ ।

बिहीबार फिफाले अध्यावधिक गरेको नयाँ वरीयतामा नेपाल ६ स्थान बढुवा भएको हो ।

उक्त वरीयता सूची अनुसार अहिले नेपाल १८२ बाट १७६ स्थानमा पुगेको छ ।

नेपालले यस वर्ष साउदी अरबमा सन् २०२७ मा हुने एएफसी एसियन कप क्वालिफायर्समा एक जित हासिल गरेको थियो ।

मलेसियाले नेपालविरुद्ध अनधिकृत खेलाडीहरू खेलाएको पुष्टि भएपछि एसियाली फुटबल महासंघ (एएफसी) ले उक्त खेल उल्ट्याउँदै नेपाल ३–० ले विजयी भएको घोषणा गरेको थियो ।

सोही वरीयतामा बंगलादेश एक स्थान घटुवामा परेपछि १८१औँ स्थानमा झरेको छ ।

भुटान पनि ६ स्थान बढुवामा पर्दा १८६औँ स्थानमा उक्लिएको छ । २०२औँ स्थानमा पुगेको पाकिस्तान तीन स्थान झरेको छ ।  तीन उक्लिएको श्रीलंकाले १९१औँ वरीयता कायम गर्दा पाँच स्थान बढुवा भएको भारत १३६औँ स्थानमा छ । एक स्थान बढुवा भएपछि माल्दिभ्स १७२ औँ स्थानमा उक्लिएको छ ।

फिफाले आजै पुरुषसँगै महिलातर्फ पनि वरीयता सूची अध्यावधिक गरेको छ । जस अनुसार नेपाली राष्ट्रिय महिला फुटबल टिम दुई स्थानमा बढुवा हुँदै ८६औँ स्थानमा पुगेको छ ।  भारत दुई स्थान घटुवामा परेपछि ६९औँ स्थानमा झरेको छ । बंगलादेश ११२औँ, पाकिस्तान १५४औँ र माल्दिभ्स १६७औँ स्थानमा यथावत् छ । एक स्थान उक्लिएको श्रीलंका १६२औँ स्थानमा रहँदा भुटान १६४औँ स्थानमा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *