आईसीसी क्रिकेट विश्वकप लिग-२: अमेरिकामाथि नेपालको सानदार जित

Thankot Times

थानकोट ।

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबारकाे खेलमा अमेरिकामाथि सानदार विजय हात पारेको छ ।

र्कीतिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएकाे खेलमा घरेलु टाेली नेपालले अमेरिकालाई ९ विकेटले हराएकाे हाे ।

अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गर्‍यो । नेपालकाे जितमा ओपनर कुशल भुर्तेलले ११८ बलमा १२० रनको अविजित शतकीय इनिन्स खेले । उनले १३ चौका र ४ छक्का प्रहार गरे ।

आसिफ शेखले ७२ बलमा ५९ रनकाे याेगदान गरे । इसान पाण्डे २९ बलमा १६ रन बनाएर नटआउट रहे । बलिङमा अमेरिकाका मोहम्मद मोहसिनले एक विकेट लिए ।

त्यसअघि र्कीतिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा अलआउट हुँदै १९५ रनमा समेटियो । एक सय ५३ रन बनाउँदा जम्मा तीन विकेट गुमाएको अमेरिकाले थप ३७ बनाउँदा बाँकी सात विकेट गुमायो । अमेरिकाका लागि ओपनर स्मित पटेल र सेहन जयसूर्याले अर्धशतकीय पारी खेले ।

अमेरिकालाई राम्रो सुरुआत दिलाउने क्रममा पटेलले ८९ बलमा तीन छक्का र आठ चौकाको सहयोगमा ८३ रन बनाए भने जयसूर्याले ५२ बल खेल्दै एक छक्का र पाँच चौकाको सहयोगमा ५० रन बनाए ।

साथै मिलिन्द कुमारले २८ र हर्मित सिंहले १४ रन बनाए भने अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अमेरिकालाई सस्तैमा समेट्ने क्रममा दीपेन्द्र सिंह ऐरीले चार र सोमपाल कामीले दुई विकेट लिए । साथै सन्दीप लामिछाने र गुलशन झाले एक–एक विकेट लिए ।

नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृंखलामा याेसँगै तीन खेल सकिएका छन् । यसअघिका दुवै खेलमा स्कटल्यान्ड विजयी भएको छ । पहिलो खेलमा स्कटल्यान्डले नेपाललाई डकवर्थ लुइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्यान्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै हराएकाे थियो ।

विश्वकप लिग-२ को अंक तालिकामा नेपाल सातौँ स्थानमा छ । नेपालले २६ खेलमा ९ मा जित र १५ मा हार व्यहाेरेकाे छ । नेपालकाे कुल २० अंक रहेकाे छ ।

अमेरिका २६ खेलबाट १८ मा जित, ८ मा हारसँगै ३६ अंकका साथ दोस्रो स्थानमा रहँदा स्कटल्यान्ड पहिलो स्थानमा छ । स्कटल्यान्डले ३० खेलमध्ये १६ मा जित, आठमा हार र छ वटा खेल अनिर्णित हुँदा कुल ३८ अंक जोडेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *