नेकपा एमालेको सचिवालय बैठकमा ११ प्रस्तावमाथि छलफल

Thankot Times

थानकोट ।

नेकपा एमालेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले पदाधिकारीको मर्यादा क्रमसम्बन्धी प्रस्ताव पेस गरेका छन् । गुन्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा सोमबार बसेको कन्द्रीय सचिवालय बैठकमा महासचिव पोखरेलले विभिन्न ११ वटा एजेन्डा प्रस्तुत गरेका छन् । 

आम निर्वाचनमा गठित सरकारको कामको र क्रियाकलाप सन्दर्भमा, सदस्यता नवीकरण र विस्तार, पदाधिकारी तथा सदस्यहरुको कार्यविभाजनसम्बन्धी प्रस्ताव पेस भएको उपमहासचिव लेखराज भट्टले बताए । यस्तै, बैठकमा संविधान संशोधन सुझाव कार्यदल गठन, निर्वाचनको समीक्षा प्रतिवेदन तयारी कार्यदल, पार्टी कार्यालय भवन निर्माणका सन्दर्भमा पनि महासचिव पोखरेलले सोमबार बसेको सचिवालय बैठकमा प्रस्ताव पेस गरेका छन् । 

बैठकमा केन्द्रीय कार्यालय, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटी गठन, संगठन विभागको कामलाई तत्काल अघि बढाउनुपर्ने भएको हुँदा विभागमा सदस्यहरू राख्नेसम्बन्धी र विविध विषयमा गरी ११ वटा एजेन्डा महासचिव पोखरेलले पेस गरेको उपमहासचिव भट्टले जानकारी दिए । बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ । बैठक फेरि वैशाख ८ गते साढे ११ बजे बस्ने गरी बोलाइएको उनको भनाइ छ । 

वैशाख ८ गते बस्ने बैठकमा महासचिवले पेस गरेको एजेन्डामाथि छलफल हुनेछ । पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिने निर्णयसँगै नेतृत्वमा आउने बाटो खुलेको छ । 

जेठ ३ गते ३३औँ मदन आश्रित स्मृतिसभामा पूर्वराष्ट्रपति भण्डारीलाई प्रमुख अतिथिको कुर्सी दिएसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नरम नीति लिएको हो कि भन्ने टिप्पणी हुन थालेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *