काभा महिला च्याम्पियनसिपः नेपालको पहिलो जित
थानकोट ।
घरेलु टोली नेपालले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ ।
शनिबार (जेठ ९) त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा नेपालले कीर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको हो ।
नेपालले खेल २५–१८,२५–२० र २५–१३ ले आफ्नो पक्षमा पार्यो । जितसँगै दुई खेलबाट चार अंक जोडेको नेपाल समूह ‘ए’को दोस्रो स्थानमा छ । नेपालको सेमिफाइनल सम्भावना जीवितै छ ।
पराजित कीर्गिस्तान दुई खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा छ ।
पहिलो खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो । कीर्गिस्तानले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो ।
अब आइतबार (जेठ १०) नेपालले माल्दिभ्ससँग समूह चरणको अन्तिम खेल खेल्नेछ ।
कीर्गिस्तानले भारतको सामना गर्नेछ ।











