काभा महिला भलिबल च्याम्पियनशिपकाे उपाधि इरानलाई, नेपाल चाैथो
थानकोट ।
काजकिस्तानलाई हराउँदै इरानले काभा महिला भलिबल च्याम्पियनशिपको उपाधि जितेकाे छ ।
गएकाे संस्करणकाे उपाधि पनि इरानले जितेकाे थियाे ।
त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा इरानले काजकिस्तानलाई ३–१ काे सेटमा हरायाे ।
इरानले पहिलाे सेट २५–१८, तेस्राे २५–१५ र चाेथाै सेट २५–२१ ले जित्याे । काजकिस्तानले दाेस्राे सेट २५–१९ ले जित्याे ।
याे सँगै विजेता बनेकाे इरानले स्वर्ण र उपविजेता बनेकाे काजकिस्तानले रजत पदक जितेकाे छ ।
आजै तेस्राे स्थानका लागि भएकाे खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित भयो ।
भारतले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२३ र चौथो सेट २५–२२ ले जित्यो । नेपालले तेस्रो सेट २५–१५ ले जित्यो ।
योसँगै भारतले तेस्राे स्थानमा रहेर कांस्य पदक जितेको छ । नेपाल चाैथाे स्थानमा रह्याे ।
घरेलु मैदानमा आयाेजना भएका पछिल्ला ३ प्रतियाेगितामा नेपाल पहिलो पटक पदकविहीन भएको हो ।
प्रतियोगितामा ८ वटा टोली सहभागी थिए ।
समूह ‘ए’ मा नेपाल, भारत, किर्गिस्तान र माल्दिभ्स तथा समूह ‘बी’ मा इरान, काजकिस्तान, श्रीलङ्का र बङ्गलादेश रहेका थिए ।












