चन्द्रागिरि, कीर्तिपुर लगायतका इलाकामा फैलिँदै बर्डफ्लु
थानकोट ।
पछिल्लो समय देशका विभिन्न स्थानमा बर्डफ्लु संक्रमण फेला परिरहेको छ ।
गएको चैत पहिलो सातादेखि कोशी प्रदेशबाट फैलिएको बर्डफ्लुले हालसम्म १० जिल्लाका ५५ वटा व्यावसायिक फार्ममा असर पारेको छ ।
सुनसरी, मोरङ, काठमाडौं, झापा, चितवन, ललितपुर, बारा, भक्तपुर, नवलपरासी पश्चिम र महोत्तरीमा बर्डफ्लु भेटिएको पशु सेवा विभागले जनाएको छ ।
उपत्यकाका कीर्तिपुर, चन्द्रागिरि, गोकर्णेश्वर, गोदावरी र सूर्यविनायक जस्ता क्षेत्रका व्यावसायिक लेयर्स फार्म र स्थानीय (लोकल) कुखुरामा समेत संक्रमण पुष्टि भएको छ ।
२० जेठ बुधबार भक्तपुर चाँगुनारायण नगरपालिकाका १ र ९ वडाका केही घरमा पालिएका कुखुरा एक्कासि मर्न थालेपछि नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेशषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको थियो ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले उपत्यका बाहिरका जिल्लामा संक्रमण केही नियन्त्रणमा आए पनि अहिले काठमाडौंका स्थानीय र व्यावसायिक फर्महरूमा संक्रमण देखिएको बताए ।
उनका अनुसार अहिलेको अवस्थामा कीर्तिपुर, चन्द्रागिरि, गोकर्णेश्वर, गोदावरी, सूर्यविनायक र भक्तपुरका केही क्षेत्रमा बर्डफ्लु भेटिने क्रम जारी छ ।
बर्डफ्लुको हालसम्म कुनै प्रभावकारी खोप वा उपचार नभएकाले संक्रमण देखिएका कुखुरा नष्ट गर्नु नै एकमात्र उपाय रहेको विभागको भनाइ छ ।
विभागले संक्रमण देखिएका क्षेत्रमा द्रुत कार्य टोली परिचालन गरी कुखुरा र अन्य पन्छीजन्य सामग्री नष्ट गर्ने कार्य गरिरहेको छ । विभागले किसानलाई जैविक सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ ।












