टी-२० वरीयतामा नेपालको सुधार, स्कटल्याण्डलाई पछि पार्दै १५ औं स्थानमा

Thankot Times

थानकोट ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको पछिल्लो टी-२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक स्थान सुधार गरेको छ।

आइसिसीको नयाँ वरीयताअनुसार नेपाल एक स्थान उक्लिँदै विश्वको १५औं स्थानमा पुग्न सफल भएको हो। आइसिसीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालले कुल ४३ खेलबाट ७ हजार ६ सय ९९ अंक प्राप्त गरेको छ।

नेपालको रेटिङ अंक १७९ रहेको छ। नेपालभन्दा पछि परेको स्कटल्याण्ड २३ खेलबाट १७९ रेटिङ अंकसहित १६औं स्थानमा झरेको छ।

वरीयताको शीर्ष स्थानमा ५२ खेलबाट २७५ रेटिङ अंकसहित भारत यथावत् रहेको छ। त्यस्तै, ३४ खेलबाट २६२ रेटिङ अंकसहित इङ्गल्याण्ड दोस्रो र ३५ खेलबाट २५८ रेटिङ अंकसहित अस्ट्रेलिया तेस्रो स्थानमा रहेका छन्।

न्युजिल्याण्ड चौथो, दक्षिण अफ्रिका पाँचौँ र पाकिस्तान छैटौँ स्थानमा रहेका छन्। वरीयताको अन्य स्थानमा वेस्ट इन्डिज सातौँ, बंगलादेश आठौँ, श्रीलंका नवौँ र अफगानिस्तान १०औँ स्थानमा रहेका छन्।

नेपालका लागि एसोसिएट राष्ट्रहरूमध्ये अमेरिका र नेदरल्याण्ड्स मात्र अगाडि रहेका छन्। २० खेलबाट १८३ रेटिङ अंकसहित अमेरिका १३औँ स्थानमा छ भने २४ खेलबाट १८० रेटिङ अंकसहित नेदरल्याण्ड्स १४औँ स्थानमा रहेको छ।

नेपालभन्दा मुनि नामिबिया १७औँ र संयुक्त अरब इमिरेट्स (युएई) १८औँ स्थानमा रहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *