निकाय र स्वास्थ्य बीमा बोर्डमा पदाधिकारी नियुक्तिका लागि आवेदन खुला

Thankot Times

थानकोट ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न ८ निकाय तथा स्वास्थ्य बीमा बोर्डका रिक्त पदाधिकारी नियुक्तिका लागि आवेदन माग गरेको छ ।

मन्त्रालयले सोमबार सूचना जारी गर्दै नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद्, नेपाल मेडिकल काउन्सिल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डका विभिन्न पदमा नियुक्तिका लागि इच्छुक तथा योग्य उम्मेदवारबाट आवेदन आह्वान गरेको हो ।

सूचनाअनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् र नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष तथा रजिष्ट्रार पदका लागि आवेदन माग गरिएको छ । यस्तै नेपाल नर्सिङ परिषद्मा अध्यक्ष, उपाध्यक्ष र रजिष्ट्रार तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा तीन सदस्य र एक सदस्य सचिव नियुक्त गरिनेछ ।

त्यसैगरी शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका लागि एक कार्यकारी निर्देशक तथा स्वास्थ्य बीमा बोर्डका लागि अध्यक्ष र एक कार्यकारी निर्देशक नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सम्बन्धित ऐन तथा नियमावलीमा तोकिएको योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिन सक्नेछन् ।

आवेदन मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा वा मन्त्रालयको वेबसाइटमार्फत पेश गर्न सकिने व्यवस्था गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *