बागमतीको बजेटः चन्द्रागिरिमा २ सय बढी योजना, अधिकांशलाई १० लाख बजेट
थानकोट ।
आर्थिक वर्ष २०८३-८४ का लागि बागमती प्रदेश सरकारबाट कार्यान्वयन हुने गरि चन्द्रागिरि नगर क्षेत्रका करिब २ सय योजना तथा कार्यक्रम सञ्चालन हुने भएका छन् ।
गत सोमबार (असार १) प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को कार्यक्रम विवरण अनुसार काठमाडाैं क्षेत्र नं. ९ र १० मा विभक्त चन्द्रागिरि नगरका सबै १५ वटै वडामा कुनै न कुनै शीर्षकमा बजेट विनियोजन भएका छन् ।
विनियोजित बजेट मध्ये अधिकांश १० लाखका छन् । विनियोजित बजेटको आकार हेर्दा यसपटक पनि बजेट नतिजामुखी कम वितरणमुखी ज्यादा भएको देखिन्छ ।
सडक निर्माण, मन्दिर निर्माण तथा घेराबार निर्माण, भवनको तत्ला थप, खानेपानीको डिप बोरिङ निर्माण, सडक स्तरोन्नति, विभिन्न संघ संस्थाका लागि सामाग्री खरिद, कार्यक्रम सञ्चालन लगायतका शीर्षकमा सो बजेट विनियोजन भएको हो ।
सामाजिक सञ्जालमा यसवर्षको बजेटपनि नतिजामुखि भन्दा पनि कार्यकर्तामुखि देखिएको भन्दै आलोचना सुरु भइसकेको छ ।
चन्द्रागिरि नगरका वडा नं. १, १२, १३, १४ र १५ काठमाडाैं क्षेत्र नं. ९ प्रदेश ख मा पर्दछन्, चन्द्रागिरि नगरका २ देखी ११ सम्मका वडा काठमााडाैं क्षेत्र नं. १० प्रदेश ख मा पर्दछन् ।
सांसद् रमा आलेमगर र केशव पोखरेल क्रमश काठमााडाैं क्षेत्र नं. १० ख र ९ ख बाट बागमती प्रदेश सभामा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।
यमुनादेवी श्रेष्ठ र विन्दु श्रेष्ठ समानुपातिक कोटामा बागमती प्रदेश सदस्य बनेका हुन् । विन्दु श्रेष्ठ अहिले प्रदेश सरकारमा उद्योग मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी छन् ।
बागमती प्रदेश सरकारले आगामी वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।










