युरोपियन टी-२० प्रिमियर लिग क्रिकेटः सन्दीप लामिछाने रोटरडम डोकर्ससँग अनुबन्ध

Thankot Times

थानकोट ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले युरोपियन टी-२० प्रिमियर लिगको उद्घाटन संस्करणमा सहभागिता जनाउने भएका छन्।

प्रतियोगिताका लागि उनलाई रोटरडम डोकर्सले आफ्नो टोलीमा आबद्ध गरेको हो।

टोलीमा अनुबन्ध भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सन्दीपले नयाँ प्रतियोगिताको पहिलो संस्करणमा रोटरडम डोकर्सको सदस्य बन्न पाउनु आफ्नो लागि गौरवको विषय भएको बताएका छन्।

उनले नयाँ टोलीसँग क्रिकेट यात्राको अर्को अध्याय सुरु गर्न उत्साहित रहेको उल्लेख गर्दै पहिलो अनुभव सधैँ विशेष हुने धारणा पनि व्यक्त गरेका छन्।

रोटरडम डोकर्समा सन्दीपसँगै अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडीहरू पनि आबद्ध छन्। टोलीमा दक्षिण अफ्रिकाका फाफ डुप्लेसी, हेनरिच क्लासेन तथा एनरिच नोर्त्जेजस्ता स्थापित खेलाडी समावेश छन्।

युरोपियन टी–२० प्रिमियर लिगको पहिलो संस्करणमा विभिन्न देशका चर्चित खेलाडीहरूको सहभागितासँगै सन्दीपको आबद्धताले नेपाली क्रिकेट समर्थकमाझ पनि प्रतियोगिताप्रति थप चासो बढाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *