एसीसी महिला यु-१९ प्रिमियर कपः नेपालको यात्रा सेमीफाइनलमा सकियो

Thankot Times

थानकोट ।

एसीसी महिला यु-१९ प्रिमियर कपको सेमिफाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित भएको छ।

रोमाञ्चक प्रतिस्पर्धामा जित निकाल्दै युएई प्रतियोगिताको फाइनलमा पुगेको हो।

निर्धारित २० ओभरको खेलमा दुवै टोलीले समान १०० रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट गरिएको थियो। सुपर ओभरमा नेपालले दिएको ७ रनको लक्ष्य युएईले तीन बलमै पूरा गर्दै जित हात पारेको हो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले सबै विकेट गुमाउँदै १०० रन बनाएको थियो। युएईका लागि मेहुल प्रनव कुलकर्णीले २९ बलमा ३० रनको योगदान दिइन्। त्यस्तै, ओपनर लावन्य केनीले २५ रन बनाउँदा नेहा कुमारीले अन्तिमतिर आक्रामक ब्याटिङ गर्दै ११ बलमा १९ रन जोडिन्।

नेपालको बलिङतर्फ अनु कठायत र रिया शर्माले समान तीन-तीन विकेट लिए। तिर्सना विश्वकर्माले दुई तथा मनिषा उपाध्यायले एक विकेट हात पारिन्।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०० रनमै सीमित भयो। नेपालका लागि अनु कठायतले २० रन बनाइन् भने सना प्रविण र एलिशा कुमारी यादवले समान १७ रनको योगदान दिइन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

युएईको बलिङमा वैष्णवीले तीन विकेट लिइन् भने साई निखिल थिटेले दुई तथा जननी थिरुकुमारन र मेहक ठाकुरले समान एक-एक विकेट लिए।

सेमिफाइनलमा हार व्यहोरे पनि नेपालले आगामी यु-१९ एसिया कप प्रतियोगितामा सहभागिताको अवसर सुरक्षित गरेको छ। फाइनलमा युएईले थाइल्यान्डसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *