मातातीर्थ क्षेत्रलाई आरोग्य ग्रामका रूपमा विकास गर्ने अभियानमा सभामुख अर्याल ‘पोजेटिभ’

Thankot Times

थानकोट ।

मातातीर्थ क्षेत्रलाई आरोग्य ग्रामका रूपमा विकास गर्ने उद्देश्यसहित एक दिने कार्यशाला आयोजना भएको छ ।

साउन २ गते शनिबार मातातिर्थस्थित जंगल महल वेलनेस रिसोर्टमा सञ्चालित सो एकदिने कार्यशाला गोष्ठीमा सभामुख डोलप्रसाद अर्याल, सांसद् प्रदिप विष्ट, नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, नगरका विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका एवं नगरसभा सदस्यहरू, नगरका कर्मचारीहरु, आयुर्वेद क्षेत्रका विज्ञ, स्वास्थ्यकर्मी, निजी क्षेत्र तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रममा सम्बोधन गर्दै सभामुख डीपी अर्यालले रोग लागेपछि उपचारमा केन्द्रित हुनेभन्दा रोग लाग्नै नदिने जीवनशैली विकास गर्नु आजको आवश्यकता भएको बताए। नेपालसँग प्रकृति, संस्कृति र स्वास्थ्य परम्पराजस्ता कहिल्यै नसकिने सम्पदा रहेको उल्लेख गर्दै उनले यिनको संरक्षण, प्रवर्द्धन र सही उपयोग गर्न सके स्वास्थ्य प्रवर्द्धनसँगै समृद्धिको नयाँ आधार निर्माण गर्न सकिने धारणा राखे।

उनले प्राकृतिक सम्पदा, आयुर्वेद, योग तथा वेलनेसलाई आर्थिक विकाससँग जोड्न सके नेपालले अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान बनाउन सक्ने बताए।

काठमाडौं क्षेत्र नम्बर–१० का प्रतिनिधि सभा सदस्य प्रदीप विष्टले चन्द्रागिरि मात्र नभई यस भेगका सबै स्थानीय तहबीच सहकार्य गरेर वेलनेस पर्यटनको साझा अवधारणा अघि बढाउनुपर्ने बताए। उनले रोगको उपचारभन्दा स्वास्थ्य प्रवर्द्धनमा आधारित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै वेलनेस पर्यटनले स्थानीय अर्थतन्त्र, रोजगारी र स्वास्थ्य प्रणालीलाई एकैसाथ सुदृढ बनाउन सक्ने धारणा व्यक्त गरे।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई नगरको विशेष प्राथमिकताका रूपमा अघि बढाइएको जानकारी दिए। उनले मातातीर्थ क्षेत्रमा रहेको प्राकृतिक, सांस्कृतिक तथा धार्मिक सम्भावनालाई स्वास्थ्य पर्यटनसँग जोडेर नगरको पहिचान स्थापित गर्ने लक्ष्य रहेको बताए।

कार्यक्रममा प्रस्तुति दिँदै नरदेवी आयुर्वेद अस्पतालका डा. पुष्पराज पौडेलले आयुर्वेदको मूल उद्देश्य उपचारभन्दा पनि स्वास्थ्य संरक्षण र रोगको रोकथाम रहेको बताए। आहार, निद्रा, ब्रह्मचर्य, दिनचर्या तथा ऋतुचर्यामा आधारित आयुर्वेदिक जीवनशैलीले नसर्ने रोगको बढ्दो चुनौती सामना गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो। उनले विश्वभर वेलनेस उद्योग तीव्र गतिमा विस्तार भइरहेको, सन् २०३० सम्म यस क्षेत्रको अर्थतन्त्र उल्लेखनीय रूपमा विस्तार हुने प्रक्षेपण रहेको तथा थाइल्याण्ड, भारत, चीन र दक्षिण कोरियालगायतका देशले वेलनेस पर्यटनबाट ठूलो आर्थिक लाभ लिइरहेको उदाहरण प्रस्तुत गरे।

डा. पौडेलले नेपालमा पनि नागरिक आरोग्य कार्यक्रम, आयुर्वेद, योग, प्राकृतिक सम्पदा र आतिथ्य सेवालाई एकीकृत गरी ‘आरोग्य ग्राम’ अवधारणा विकास गर्न सके स्वास्थ्य प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताए। उनले संघ, प्रदेश र स्थानीय तहले नीतिगत सहजीकरण, लगानीमैत्री वातावरण, कर प्रोत्साहन, पूर्वाधार विकास तथा गुणस्तर नियमनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

जंगल महल वेलनेस रिसोर्टका सञ्चालक डा. दिनेश प्रसाईंले नेपालको समृद्धिको आधार उद्यमशीलता र उच्च मूल्ययुक्त सेवा निर्यात भएको उल्लेख गर्दै परम्परागत सस्तो पर्यटनबाट उच्च मूल्यको ‘वेलनेस टुरिजम’तर्फ रुपान्तरण हुनुपर्ने बताए। नेपाल आउने पर्यटकको दैनिक खर्च र बसाइ अवधि अझै न्यून रहेकाले प्रकृति, संस्कृति, आयुर्वेद, योग, वास्तुकला र जैविक विविधतालाई एकीकृत गरी दीर्घ बसाइ गर्ने तथा उच्च खर्च गर्ने पर्यटक आकर्षित गर्नुपर्ने उनको भनाइ थियो।

उनले चन्द्रागिरि–८ मातातीर्थ कम प्रदूषण, समृद्ध जैविक विविधता, धार्मिक–सांस्कृतिक सम्पदा तथा योग–आयुर्वेद पूर्वाधारका कारण ‘आरोग्य तथा वेलनेस पर्यटन हब’ बन्न सक्ने उल्लेख गरे। स्थानीय जनप्रतिनिधि, स्वास्थ्य विज्ञ, निजी क्षेत्र र समुदायबीचको सहकार्यबाट यो अभियान अघि बढिरहेको बताउँदै नेपाल सरकारले अघि सारेको वेलनेस पर्यटन अवधारणालाई सफल बनाउन आवश्यक कानुनी, नीतिगत र संस्थागत सहजीकरण अपरिहार्य रहेको उनले बताए।

कार्यक्रमको प्रारम्भमा मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालका प्रमुख नारायण आचार्यले मातातीर्थलाई ‘आरोग्य ग्राम’का रूपमा विकास गर्न आवश्यक नीतिगत, प्राविधिक र संस्थागत पक्षका बारेमा सबै सरोकारवालासँग लिखित सुझाव मागेका थिए।

उनले आरोग्य ग्रामको अवधारणालाई सफल बनाउन स्थानीय सरकार, स्वास्थ्य संस्था, निजी क्षेत्र र समुदायबीच साझा स्वामित्व आवश्यक रहेको बताए।

मातातिर्थ अयुर्वेद तथा बैकल्पिक चिकित्सा अस्पताल संचालन ब्यबस्थापन समितिका विज्ञ सदस्य शंकर गौतमले मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालको स्थापना, हाल सञ्चालनमा रहेका सेवा तथा भविष्यका योजनाबारे जानकारी गराएका थिए। त्यस्तै चन्द्रागिरि नगरपालिकाकी उपप्रमुख बसन्ती श्रेष्ठ, वडा नम्बर–८ का अध्यक्ष प्रह्लाद रिजाललगायतले मातातीर्थलाई आयुर्वेद, योग र प्राकृतिक उपचारको केन्द्रका रूपमा विकास गर्न नगरपालिका प्रतिबद्ध रहेको धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा आयुर्वेद क्याम्पस कीर्तिपुरका प्रमुख शिवमंगलप्रसाद साह, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरका निर्देशक डा. सन्तोष ठाकुर, सिंहदरबार वैद्यखानाका निर्देशक डा. प्रदीप केसी, बरिस्ठ योग चिकित्सक डा विनोद घिमिरे, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले मातातीर्थलाई नेपालकै नमुना ‘आरोग्य ग्राम’का रूपमा विकास गरी आयुर्वेद, योग, प्राकृतिक उपचार र वेलनेस पर्यटनको राष्ट्रिय केन्द्र बनाउने दिशामा संयुक्त पहल आवश्यक रहेको निष्कर्ष निकाले।

मेडीकल पत्रको सहयोगमा ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *