लुम्बिनी प्रदेश सरकारबाट पाँच जना मन्त्रीले दिए सामूहिक राजीनामा
थानकोट ।
नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच लुम्बिनी प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने सहमति भएपछि सत्ता साझेदार दल नेपाली कांग्रेसका पाँचै जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
कांग्रेसका पाँचै जना मन्त्रीले आइतबार कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष राजीनामा बुझाएका हुन् । सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले आफूहरूले संसदीय दलका नेतासमक्ष राजीनामा बुझाएको जानकारी दिए ।
लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज), आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी थिए ।
कांग्रेस संसदीय दलले अब मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा पत्र बुझाएर सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने तयारी गरेको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार प्रदेश सरकारमा सहकार्य गर्ने सहमति गरेका थिए ।
सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने भएको छ । लुम्बिनीका वर्तमान मुख्यमन्त्री आचार्य कांग्रेसको समर्थनमा ७ साउन २०८१ मा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री बनेका थिए । त्यसबेला एमाले र कांग्रेससहित ५६ प्रदेशसभा सदस्यले उनलाई समर्थन गरेका थिए ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा हाल ८३ सांसद कायम छन् । यहाँ एमाले सबैभन्दा ठूलो दल हो । एमालेका २९, कांग्रेसका २७, सभामुखसहित नेकपाका १३, जसपा नेपालका ३, राप्रपाका ४, जनमत पार्टीका ३, लोसपाका २ तथा जसपा, राष्ट्रिय जनमोर्चा र एक/एक स्वतन्त्र सांसद छन् ।
लुम्बिनीमा एमाले र नेकपाका सांसद मात्रै ४० जना हुने भएकाले सरकार गठनका लागि आवश्यक ४२ मत पुर्याउन उनीहरूलाई अन्य दलको समर्थन आवश्यक पर्नेछ ।
रोल्पाबाट स्वतन्त्र निर्वाचित एक सांसदले यसअघि नै नेकपालाई समर्थन गरिसकेका छन् । त्यस्तै, माओवादी पृष्ठभूमिका नवलपरासी (पश्चिम) का खड्गबहादुर बस्नेतले पनि नेकपालाई समर्थन गर्ने प्रबल सम्भावना छ । त्यसो भए सरकार गठनका लागि साना दलबाट थप एक सांसदको समर्थन पर्याप्त हुनेछ ।
लुम्बिनीमा एमालेले कसलाई मुख्यमन्त्री बनाउने भन्ने टुंगाे लगाइसकेको छैन । अहिले दलका नेतासमेत रहेका मुख्यमन्त्री आचार्यलाई निरन्तरता दिने वा पूर्वमुख्यमन्त्री लिला गिरी र पूर्व भौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकालमध्ये एक जनालाई नयाँ मुख्यमन्त्री बनाउने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।










