काभा भलिबल च्याम्पियनशिप-२०२६: नेपाल ६ वटै खेलमा पराजित
थानकोट ।
पाकिस्तानमा चलिरहेको काभा पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल खेलेका सबै ६ वटै खेलमा पराजित हुँदै अन्तिम बनेको छ ।
आज पाँचौँ स्थानका लागि भएको खेलमा नेपाल कजाकस्तानसँग ३–० को सोझो सेटमा पराजित भयो । कजाकस्तानले पहिलो सेट २५–१८, दोस्रो सेट २७–२५ र तेस्रो सेट २५–२० ले जित्यो ।
योसँगै ६ वटा टोली सहभागी प्रतियोगितामा नेपाल जीतविहीन हुँदै अन्तिम स्थानमा रहेको हो । नेपालले लिग चरणको पहिलो खेलमा कजाकस्तानसँग ३–२, दोस्रो खेलमा श्रीलङ्कासँग ३–२, तेस्रो खेलमा पाकिस्तानसँग ३–०, चौथो खेलमा बङ्गलादेशसँग ३–२ र पाँचौँ खेलमा उज्वेकिस्तानसँग ३–० को हार बेहोरेको थियो ।
काभा पुरुष भलिबल च्याम्पियनशिपमा पाकिस्तान, उज्वेकिस्तान, बङ्गलादेश र श्रीलङ्का शीर्ष ४ मा रहँदै सेमिफाइनलमा पुगेका थिए ।
अब उपाधिका लागि भोलि बङ्गलादेश र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
आजै भएको सेमिफाइनलमा बङ्गलादेशले उज्वेकिस्तानलाई र पाकिस्तानले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराए ।










