आकस्मिकबाहेकका स्वास्थ्य सेवा आजपनि बन्द गर्ने चिकित्सक संघको घोषणा

Thankot Times

थानकोट ।

नेपाल चिकित्सक संघले बुधबार पनि देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पताल तोडफोड घटनामा संलग्न दोषीमाथि कारबाही नभएको भन्दै संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

संघले स्थानीय प्रशासन र नेपाल सरकारले घटनाप्रति उदासीनता देखाएको आरोप लगाउँदै खेद व्यक्त गरेको छ । घटना भएको चार दिन बितिसक्दा पनि दोषीलाई कानुनी दायरामा ल्याउन नसकिएको र पीडित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि नै अन्याय भएको संघको भनाइ छ ।

वार्ताका लागि पुगेका चिकित्सकमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबाट दुर्व्यवहार भएको आरोप लगाउँदै संघले घटनालाई लज्जास्पद भएको जनाएको छ ।

यस्तै, काठमाडौं उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीले बिहान १० बजे माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गर्ने र उपत्यकाबाहिरका चिकित्सक तथा स्वास्थ्यकर्मीले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै कार्यस्थलमा धर्ना दिने कार्यक्रम तय गरिएको छ ।

आन्दोलनमा साथ दिन विशेषज्ञ समाज, एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल तथा स्वास्थ्य क्षेत्रमा क्रियाशील संघसंस्थालाई संघले आग्रह गरेको छ । आन्दोलनका कारण आम नागरिकमा पर्न सक्ने असुविधाप्रति क्षमा माग्दै त्यसको जिम्मेवार नेपाल सरकार स्वयं रहेको संघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ