करदाता प्रोत्साहन प्रोर्टल सञ्चालनमा

Thankot Times

थानकोट ।

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्तालाई आह्वान गरेको छ ।

शनिबार (साउन १६) एक सूचना जारी गर्दै विभागले नगद कारोबार गरेका उपभोक्तालाई आफ्नो सक्कल बिल दर्ता गराउन आग्रह गरेको हो ।

विभागका उपमहानिर्देशक एवम् सहसचिव जनकराज शर्माका अनुसार, साउन १ गतेयता १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल प्यान तथा भ्याट बिल लिएका उपभोक्ता करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुन पाउँछन् ।

“हामीले प्राइज डट आइआरडी डट जीओभी डट एनपी नामक नयाँ वेबसाइट शनिबारदेखि सञ्चालनमा ल्याएका छौँ,” उपमहानिर्देशक शर्माले भने, “नगद भुक्तानी गरी स्वप्रयोजनका लागि नेपालभित्र एकपटकमा १०० भन्दा बढी मूल्यको वस्तु तथा सेवा खरिद गर्ने बीजक लिएका योग्य उपभोक्ताहरूले वेबसाइटमा गएर आफ्नो बिल अपलोड गर्न सक्नुहुन्छ ।”

क्यूआरबाट गरिने कारोबार प्रणालीमार्फत नै उपहार कार्यक्रममा समावेश गरिसकिएकाले उनीहरूले अहिले बिल प्रविष्ट (इन्ट्री) गर्नु नपर्ने पनि विभागले स्पष्ट पारेको छ ।

विभागका अनुसार, बैंक तथा वालेटको क्यूआरमार्फत १०० भन्दा बढीको वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले अहिले बिल दर्ता गराउनु पर्दैन । क्यूआरबाट पैसा तिरेको कारोबार डाउनलोड गरेर राख्ने र सोही ‘ट्रान्ज्स्याक्सन’ नम्बर नै उपहारका निम्ति विभागको प्रणालीमा प्रविष्ट भइसकेकाले त्यो यसनिम्ति योग्य हुनेछ ।

उपहार घोषणा भएपछि सक्कल बिल अनिवार्य चाहिन्छ । त्यसैले बिलहरू सुरक्षित राख्न विभागले सबै उपभोक्ताको ध्यानाकर्षण गराएको छ ।

विभागले आफूले गरेको खरिदको सक्कल भ्याट तथा प्यान बिल माग्न र त्यो नपाएको खण्डमा विभागमा जानकारी गराउन पनि उपभोक्तालाई आग्रह गरेको छ ।

विभागले साउन १ गतेदेखि लागु गरेको करदाता प्रोत्साहन कार्यक्रमको पहिलो १५ दिनको नतिजा आउँदो साता सार्वजनिक गर्ने तयारी गरेको छ ।

“प्राविधिक हिसाबले हामी तयारी अवस्थामा छौँ । कुनै ठूलो प्राविधिक समस्या नआए आगामी साता पहिलो १५ दिनको (हरेक दिनको एक लाखका दरले १५ जना विजेता र १५ दिनको बम्पर १० लाख रुपैयाँका विजेता एकजना) नतिजा घोषणा गर्न सक्ने अवस्थामा छौँ,” विभागले भनेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *