नेपालमा आन्तरिकतर्फको हवाई भाडा बढ्यो
थानकोट ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपियाँ बढाएसँगै आन्तरिकतर्फको हवाई भाडा बढेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडामा लागु हुने फ्युल सरचार्ज संशोधन गर्दै (हिजो) मङ्गलबारदेखि नयाँ भाडादर लागु गरेपछि आन्तरिकतर्फको जहाज र हेलिकोप्टरको भाडा बढेको हो ।
वायुसेवा कम्पनीले इन्धनको शुल्क बढाउँदा यात्रुले हवाई टिकटमा भाडासँगै जोडेर यो शुल्क तिर्नुपर्ने हुन्छ ।
आयल निगमलाई बुझाउने इन्धनको शुल्कबापतको रकम हवाई टिकटमै जोडिने भएकाले हरेक पटक निगमले इन्धनको मूल्य समायोजन गर्दा हवाई यात्रुको टिकेटमै उक्त शुल्क बढ्ने र घट्ने गरेको छ ।
समायोजन भएको नयाँ भाडादर अनुसार सबैभन्दा बढी काठमाडौँ–धनगढीको हवाई भाडा बढेको छ ।
यो क्षेत्रको हवाई भाडा ८८० रुपियाँले बढेको छ । त्यस्तै गरी काठमाडौँबाट हुने पर्वतीय उडानमा ६८५, काठमाडौँ–भद्रपुरको ६०५ काठमाडौँ–नेपालगन्जको ६५५, काठमाडौँ–विराटनगरको ४८०, काठमाडौँ– भैरहवाको ४१०, काठमाडौँ–पोखराको ३१५, काठमाडौँ–जनकपुरको २६० र काठमाडौँ–सिमराको १८० रुपियाँले टिकट मूल्य महँगिएको छ ।
त्यसै गरी काठमाडौँबाट नेपालगन्जको ६५५, तुम्लिङटारमा ३७०, सुर्खेतको ६९० र राजविराजमा ४१० रुपियाँ बढेको छ । नयाँ भाडादर अनुसार पोखरा–भद्रपुर रुटको ८१० रुपियाँ, पोखरा–धनगढीको ६८५ रुपियाँ र पोखरा–जनकपुर रुटको ५२५ रुपियाँले भाडा बढेको छ ।
समायोजन भएको नयाँ भाडादर अनुसार हेलिकोप्टर चार्टर तथा उद्धार उडानको भाडादरसमेत बढेको छ ।
जस अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरमा उद्धार उडानको ब्लक–टाइम दर एक लाख २८ हजार रुपियाँ (१३ प्रतिशत भ्याटसहित) कायम गरिएको छ । पर्यटकीय तथा व्यावसायिक गन्तव्यमध्ये काठमाडौँबाट पोखरा जाने हेलिकोप्टर उडानको भाडा तीन लाख ८२ हजार रुपियाँ पुगेको छ ।
त्यस्तै गरी अब काठमाडौँबाट विराटनगरतर्फ पाँच लाख ७३ हजार, भैरहवातर्फ पाँच लाख नौ हजार, धनगढीतर्फ १३ लाख ९९ हजार र सुर्खेततर्फ १० लाख १७ हजार रुपियाँ तिर्नुपर्ने भएको छ ।
दुर्गमतर्फ हुम्ला र दार्चुलामा यो दर क्रमशः १३ लाख ९९ हजार र १६ लाख ५३ हजार रुपियाँ पुगेको छ ।










