ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम ५.२५ % ब्याजदरमै अटो लोन
थानकोट ।
ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी कर्जा पाउनेछन्।
जसअनुसार हालको आधारदरमा न्यूनतम ब्याजदर ५.२५ प्रतिशत कायम हुने बैंकले जनाएको छ। बैंकको आधारदर घटबढ भएअनुसार कर्जाको ब्याजदर पनि स्वतः समायोजन हुनेछ।
साथै, बैंकले नाइमा अटो एक्सपोमा नयाँ इभी गाडी किन्ने ग्राहकहरुको लागि ३ वर्षको लागि ५.९९ प्रतिशतको स्थिर ब्याजदरको योजना ल्याएको छ । ३ वर्ष पश्चात् उक्त कर्जाको दर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप हुनेछ ।
साथै, ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोमा आफ्नो स्टल राखी गाडी किन्न इच्छुक ग्राहकहरुलाई कर्जा प्रकृया अगाडि बढाउने व्यवस्था गरेको छ । बैंकको उक्त स्टलबाटै पनि ग्राहकले कर्जाको आवेदन दिन मिल्ने व्यवस्था बैंकले गरेको छ ।
ग्राहकहरुले कागजपत्र पुरा गरेपश्चात् बैंकले गाडी किन्नको लागि अधिकतम् तीन दिन मै स्वीकृतिपत्र समेत प्रदान गर्नेछ ।
विगत लामो समयदेखि आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत हात पारेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । हाल बैंकले ३४१ शाखा कार्यालय, ३६६ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित कुल १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
यसका साथै बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।










