डिजिटलको भुँवरीमा किशोर-किशोरीको मन, लागुऔषध र प्रविधिको दोहोरो चपेटामा शिक्षकको खाँचो

Thankot Times

हाम्रो समाजका ढुकढुकी भनेका किशोर-किशोरीहरू नै हुन्। तर पछिल्लो दशकमा उनीहरूको मानसिक स्वास्थ्य र व्यवहारमा देखिएको परिवर्तनले समग्र अभिभावक, शिक्षक र समाजलाई चिन्तित बनाइरहेको छ।

एकातर्फ लागुऔषधको बढ्दो पहुँच, अर्कोतर्फ अनियन्त्रित डिजिटल प्रविधिको दुरुपयोग, यी दुई समस्या किशोर–किशोरी जीवनमा माकुराको जालोजस्तै फैलिँदैछ। यस सन्दर्भमा विद्यालय तथा शिक्षकहरूको भूमिका निकै महत्त्वपूर्ण हुन्छ, किनभने विद्यालय नै किशोर–किशोरीको दोस्रो परिवार हो।

  • तथ्यांकीय चित्र: २०८२/८३ को पछिल्लो विवरण 

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो तथा गृह मन्त्रालयका हालै प्रकाशित प्रतिवेदनहरूले २०८२/८३ आर्थिक वर्षको अवस्था यसरी प्रस्तुत गरेका छन्: ·

  • लागुऔषध मुद्दा र पक्राउ: चालू आर्थिक वर्ष २०८२/८३ मा हालसम्म ५,०४७ वटा लागुऔषध सम्बन्धी मुद्दा दर्ता भएका छन् भने ७,७२५ नेपाली, ३२८ भारतीय र १५ अन्य विदेशी गरी कुल ८,०६८ जना पक्राउ परेका छन्। गत वर्षको तुलनामा पक्राउ पर्नेको संख्यामा ५.५५% ले वृद्धि भएको छ ।
  • लागुऔषध बरामद: यसै अवधिमा लागुऔषध नियन्त्रण ब्यूरोले अन्तर्राष्ट्रिय बजार मूल्य रु. ८५ करोड ७७ लाख ५० हजार बराबरको लागुऔषध बरामद गरेको छ। जसमा २३.१४१ किलो ब्राउन हेरोइन, १३.३४७ किलो कोकिन, ७.८ किलो ह्वाइट हेरोइन, ४३ किलो अफिम, थाइल्याण्डबाट तस्करी गरिएको २०४ किलो गाँजा, ५ लाख ४१ हजार ट्रामाडोल क्याप्सुल र ३४ हजार नाइट्राजेपाम चक्की समावेश छन् ।
  • कुललतमा परेका संख्या: सन् २०२४ सम्म नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या १ लाख ५६ हजार पुगेको अनुमान गरिएको छ, जुन सन् २००६ को ४६,३०९ को तुलनामा निकै बढी हो। पछिल्लो अध्ययनअनुसार यो संख्या १ लाख ९० हजार नाघिसकेको अनुमान गरिएको छ ।
  • उमेर समूह: पक्राउ पर्नेमध्ये अधिकांश १६ देखि ३० वर्ष उमेर समूहका रहेका छन्। प्रहरी अधिकारीहरूका अनुसार पहिले युवावयस्क मात्र लतमा पर्ने देखिए पनि अहिले बालबालिका, किशोर–किशोरी र महिलाहरू पनि यसको चपेटामा पर्न थालेका छन्। अभिभावकहरू आफ्ना छोराछोरी लागुऔषधको लतमा परेकोमा विश्वास गर्न समेत नसक्ने अवस्था रहेको प्रहरीको भनाइ छ ।
  • लागुऔषधको प्रभाव:

केवल स्वास्थ्य होइन, सम्बन्धको संकट लागुऔषधले किशोर–किशोरीको दिमागी विकासमा गम्भीर असर पार्छ। यसले उनीहरूको सोच्ने क्षमता, निर्णय गर्ने शक्ति र आत्मनियन्त्रणलाई क्रमशः कमजोर बनाउँछ। तर, त्योभन्दा पनि ठूलो क्षति हुन्छ उनीहरूको पारिवारिक र सामाजिक सम्बन्धमा। विश्वासघात, चोरी, झूठ र द्वन्द्व दैनिकी बन्दै जान्छ। कक्षाकोठामा एक्लिँदै गएको र पढाइप्रति विमुख भएको किशोर–किशोरीको आँखालाई शिक्षकले समयमै चिन्न सक्नुपर्छ।

  • डिजिटल प्रविधिको अनियन्त्रित प्रयोग:

सुविधा हो कि विपत्ति? प्रविधि आफैंमा खराब होइन। तर, सामाजिक सञ्जालको लतले किशोर–किशोरीकोको ध्यान केन्द्रित गर्ने क्षमतालाई तहसनहस पारेको छ। कक्षामा १० मिनेट पनि ध्यान दिन नसक्ने, राति २–३ बजेसम्म मोबाइल हेर्ने र बिहान उठ्न नसक्ने अवस्था सामान्यजस्तो भइसकेको छ। यसको गम्भीर पक्ष के हो भने, यसले किशोर–किशोरीलाई “भर्चुअल दुनियाँमा सुपरहिरो, वास्तविक जीवनमा कमजोर” बनाउँछ। उनीहरूको आत्मसम्मान अनलाइन ‘लाइक’ र ‘भ्यू’ मा निर्भर हुन थालेको छ।

  • विद्यालयमा शिक्षकको भूमिका:

रूपान्तरणको सूत्राधार यो दोहोरो चुनौतीको सामना गर्न शिक्षकहरूको भौतिक तथा मानसिक उपस्थिति निकै आवश्यक छ।

  • सहानुभूतिपूर्ण व्यवहार: शिक्षकले कठोर अनुशासनभन्दा पनि ‘सुन्ने कला’ विकास गर्नुपर्छ। विद्यार्थीले आफ्नो पीडा खुलेर भन्न पाउने वातावरण हुनुपर्छ।
  • प्रविधिको सकारात्मक प्रयोग: शिक्षकले विद्यार्थीलाई प्रविधिको सही प्रयोग (जस्तै- अनलाइन कोर्स, सीप विकासका भिडियो, डिजिटल पुस्तकालय) सिकाउनुका साथै डिजिटल डिटक्सको अभ्यास गराउनुपर्छ।
  • अभिभावकसँग नियमित संवाद: शिक्षकको भूमिका विद्यालयमा मात्र सीमित नभई अभिभावकलाई पनि मोबाइलको समयसीमा, घरको निगरानीबारे सुझाव दिने हो।
  • व्यावहारिक शिक्षा: खेलकुद, सीपमूलक कक्षा, वादविवाद, सांस्कृतिक कार्यक्रम जस्ता गतिविधिहरू बढाउनुपर्छ, जसले विद्यार्थीको ऊर्जा सकारात्मक दिशामा मोडियोस्।
  • सचेतना कार्यशाला: विद्यालयले प्रत्येक २–३ महिनामा लागुऔषध र साइबर सुरक्षासम्बन्धी व्यावहारिक कार्यशाला सञ्चालन गर्ने नीति लिनुपर्छ।
  • निष्कर्ष:

२०८२ को तथ्यांकले एउटा स्पष्ट संकेत दिन्छ — किशोर–किशोरीहरू संवादको खाँचो मा छन्, न कि नियम र दण्डको। डिजिटल उपकरणलाई हतियार बनाएर लागुऔषध व्यापारीहरूले उनीहरूको कमजोरिलाई प्रयोग गरिरहेका छन्। यस्तो अवस्थामा शिक्षक विद्यालय मात्र होइन, समग्र समाज, अभिभावक, प्रहरी र स्वास्थ्यकर्मी सबैको साझा प्रयास आवश्यक छ। हरेक विद्यालयमा ‘सुरक्षित कक्षाकोठा’ अवधारणा लागू गर्न सकेमा मात्र आउने पुस्तालाई डिजिटल र रासायनिक दुवै लतबाट जोगाउन सकिन्छ। अन्त्यमा, शिक्षकले आफूलाई ‘ज्ञानको मात्र प्रसारक’ नभई ‘जीवनको मार्गदर्शक’ ठान्नुपर्छ। किनभने किशोर–किशोरीहरुको जीवनको यो बाटोमा सही हात समात्ने साथी नै शिक्षक नै हुन्।

माथि उल्लिखित सामाग्री लेखकका व्यक्तिगत विचार हुन् । लेखक सन्तोष दाहाल, मङ्गलोदय माध्यमिक विद्यालय, चन्द्रागिरि-३ थानकोट, काठमाडौँका शिक्षक हुन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ