काठमाडाैं विश्वविद्यालयको उपकुलपतिका लागि १० जनाको संक्षिप्त सूची सार्वजनिक

Thankot Times

थानकोट ।

शिक्षा तथा खेलकुद मन्त्रालयले काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति बन्न आवेदन दिएका १० जनाको संक्षिप्त सूची सार्वजनिक गरेको छ।

मन्त्रालयले सोमबार संक्षिप्त सूची सार्वजनिक गर्दै आवेदकलाई प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ। संक्षिप्त सूचीमा दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइटेल, विकाश नकर्मी, विमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द संजेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपाने छन्।

पोखरेल, पराजुली, लुइटेल, नकर्मी र श्रेष्ठलाई साउन २२ गते बिहान ८ बजे प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइएको छ। यस्तै, जोशी, बराल, संजेल, शर्मा र न्यौपानेलाई दिउँसो १ बजे मन्त्रालयमा बोलाइएको छ। मन्त्रालयका अनुसार प्रस्तुतीकरणको समय १५ मिनेट हुने र त्यसलगत्तै अन्तर्वार्ता हुनेछ।

आवेदकलाई तोकिएको समयभन्दा एक घण्टा अगावै सक्कल कागजातसहित उपस्थित हुन मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले संक्षिप्त सूचीमा रहेका उम्मेदवारका सम्बन्धमा साउन २० गतेभित्र राय सुझाव उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको जनाएको छ।

उपकुलपति छनोट तथा सिफारिस समितिका अनुसार केयूको उपकुलपति पदका लागि ३५ जनाको आवेदन दिएका थिए। सरकारले अध्यादेशमार्फत उपकुलपतिबाट हटाएका अच्युत वाग्ले भने संक्षिप्त सूचीमै परेका छैनन्।

संक्षिप्त सूचीबाट अब तीन जनाको नाम उपकुलपतिका लागि सिफारिस हुनेछ। त्यसमध्येबाट एक जना विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले उपकुलपति छनोट गर्ने छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *