सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रास्वपाको रोक
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ । एक महिलालाई धम्क्याएको र ब्ल्याकमेलिङ गरेको भनिएको अडियो सार्वजनिक भएपछि पार्टीले आन्तरिक छानबिन अघि बढाउँदै सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको हो ।
रास्वपाका महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको जानकारी दिएका छन् ।
छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।
‘यस विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ। अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उहाँलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइन्छ’, विज्ञप्तिमा भनिएको छ ।
सुनारसँग सम्बन्धित सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री र उनीमाथि उठेका गम्भीर प्रश्नप्रति पार्टीको ध्यानाकर्षण भएको रास्वपाले जनाएको छ ।
‘सञ्चारमाध्यममार्फत आरोपका रूपमा सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता विषय अत्यन्त गम्भीर र संवेदनशील छन्,’ विज्ञप्तिमा भनिएको छ ।
रास्वपाले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लंघन र फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति रहेको जनाएको छ । सार्वजनिक भएका विषयमा राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै पार्टीले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
राज्यको स्वतन्त्र अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन र विधानबमोजिम थप कदम चाल्ने विज्ञप्तिमा उल्लेख छ ।
‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको जनाउँदै रास्वपाले कानुन उल्लंघन वा पदीय आचरणविपरीतको कार्य गर्ने कसैलाई पनि राजनीतिक संरक्षण नदिने स्पष्ट पारेको छ ।
‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा रास्वपा दृढ छ । राज्यको स्वतन्त्र अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त हुने निष्कर्षका आधारमा पार्टीले कानुन र विधानबमोजिम थप कदम चाल्नेछ । कानुनको उल्लंघन वा पदीय आचरणविपरीतको कार्य गर्ने जो-कोहीलाई राजनीतिक संरक्षण दिने कार्य रास्वपाबाट कहिल्यै हुने छैन भन्ने कुरामा हामी सम्पूर्ण जनसमुदायलाई आश्वस्त पार्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।














