राष्ट्रिय सभा सदस्यद्वारा थानकोट चेकपोष्टस्थित चन्द्रागिरि साकोस मुख्यालय भ्रमण
थानकोट ।
राष्ट्रिय सभाका सदस्यहरूले थानकोट चेकपोष्टस्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.को मुख्यालय भ्रमण गरेका छन् ।
राष्ट्रिय सभाका सदस्यहरू जयन्तीदेवी राई, गरिमा शाह, पूर्वमन्त्री तथा पूर्व राष्ट्रिय सभा सदस्य युवराज ज्ञवाली निवर्तमान राष्ट्रिय सभा सदस्य सुमित्रा बि.सी. लगायतको टोलीले मंगलबार उक्त सहकारीको भ्रमण गरेको हो ।
भ्रमणका टोलीलाई संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले स्वागत गर्नुका साथै संस्थाको बारेमा संक्षिप्त जानकारी गराएका थिए ।
सो अवसरमा क्रममा वर्तमान परिप्रेक्ष्यमा नेपालको सहकारी क्षेत्रको अवस्था, सहकारी संस्थाहरूले भोगिरहेका चुनौती तथा समस्याहरू, सदस्यको बचत सुरक्षा, सहकारी सुशासन, संस्थागत पारदर्शिता र सहकारी क्षेत्रको दिगो विकास लगायतका समसामयिक विषयमा छलफल तथा विचार आदानप्रदान भएको चन्द्रागिरि साकोसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै, सहकारी क्षेत्रलाई थप व्यवस्थित, विश्वसनीय, पारदर्शी र सदस्यकेन्द्रित बनाउन नीतिगत सुधार, प्रभावकारी नियमन तथा सरोकारवाला निकायबीचको सहकार्य आवश्यक रहेको विषयमा समेत सो क्रममा छलफल भएको बताइएको छ ।
यस भ्रमण तथा अन्तरक्रियाले सहकारी क्षेत्रको वास्तविक अवस्था, समस्या र सम्भावनालाई नीतिगत तहसम्म पुर्याउन सहयोग पुग्ने विश्वास संस्थाले लिएको छ ।
संस्थामा हाल २४५२९ सदस्य रहेका छन जसमध्ये २१७८ जना ऋणी सदस्य रहेका छन् ।
कुल २२ करोड ९६ लाख ६२ हजार ८ सय रुपैयाँ शेयर पुँजी भएको चन्द्रागिरि साकोसको कूल सम्पत्ति ३ अर्ब ८२ करोड ८२ लाख ३१ हजार १५४ रुपैयाँ बराबर रहेको छ ।














