एसियाड विजेतालाई सरकारले दियो पुरस्कार, कसले कति पाए ?

Thankot Times

थानकोट ।

२०औँ एसियाली खेलकुदमा पदक जितेका खेलाडीहरूलाई नेपाल सरकारले घोषित पुरस्कार वितरण गरेको छ ।

बुधबार सरकारले विजेता खेलाडीहरूको खातामा पुरस्कार रकम जम्मा गरिदिएको हो ।

विगतमा एक त घोषित पुरस्कार प्राप्त गर्न खेलाडीहरूले वर्षौं पर्खिनु पर्थ्यो ।

अझ पटक–पटक ताकेता गर्नपर्थ्यो । त्यसपछि पुरस्कार वितरण भव्य समारोहबचि हुने गर्थ्यो । र, पुरस्कार प्रायः प्रधानमन्त्रीको हातबाट वितरण गरिन्थ्यो । जसका निम्ति खेलाडीहरू औपचारिक पोसाकमा प्रधानमन्त्री कार्यालय पुग्थे । त्यहाँ घण्टौँको पर्खाइ र लामो भाषणपछि पुरस्कार प्राप्त हुन्थ्यो ।

तर, यसपालि त्यस्तो औपचारिकता पूरा गरिएन । खेलाडीहरूको खातामा रकम सिधै राखिदियो । यसले खेलाडीहरूलाई सहज भएको छ । सरकारको तीव्र गतिको कामको प्रशंसा पनि भएको छ ।

एसियाड सकिएलगत्तै गत हप्ता असोज २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले पदक विजेता खेलाडीलाई पुरस्कार तत्काल वितरण गर्ने निर्णय गरेको थियो ।
सरकारले पदक विजेता खेलाडीहरूलाई वितरण गरेको पुरस्कार राशी ३५ लाख १० हजार रुपैयाँ रहेको छ।

कसले कति पाए पुरस्कार ?  
२०औँ एसियाडमा नेपालबाट महिला कबड्डी टोली र कराते खेलाडी तेञ्जिङ शेर्पाले गरी दुई कास्य पदक प्राप्त गरेका थिए ।

करातेतर्फ तेञ्जिङले ८४ केजीमाथिको तौल समूहमा तथा महिला कबड्डी टोलीले पदक जितेका हुन् । महिला कबड्डी टोलीको यो लगातार दोस्रो एसियाड कास्य हो ।

ती खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकले पुरस्कार पाएका हुन् ।

जसअनुसार करातेका तेन्जिङले ६ लाख ५० हजार, उनका प्रशिक्षक कुशल श्रेष्ठले एक लाख ३० हजार र व्यवस्थापक युवराज लामाले ६५ हजार रुपैयाँ पाएका छन् ।

त्यसैगरी महिला कबड्डी टोलीका प्रत्येक खेलाडीले एक लाख ९५ हजार रुपैयाँ, मुख्य प्रशिक्षक पार्वती राईले एक लाख ३० हजार तथा सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीले ६५/६५ हजार रुपैयाँ प्राप्त गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ