तर्साउने धेरै आए, तर्सिने बानी परेन : गगनकुमार थापा
थानकोट ।
नेपाली कांग्रेसका सभापति गगन थापाले तर्साउने धेरै आए पनि तर्सिने बानी नपरेको बताएका छन् ।
सोमबार साँझ सामाजिक सञ्जालमार्फत थापाले लेखेका छन्, ‘अहिले ठीक १८:०० बजेको छ । तर्साउने धेरै आए, तर्सिने बानी परेन ।’
पछिल्लो समय कांग्रेसको आधिकारिकता पाउन गगन समूहले सर्वोच्च अदालत र निर्वाचन आयोगमा १८ करोडको लेनदेन गरेको आरोप लागिरहेको छ ।
कांग्रेसले अनर्गल प्रचार भन्दै यसमा खण्डन गरिसकेको छ ।
आइतबार प्रधानमन्त्री वालेन्द्र शाहले एक/दुई जनालाई उम्किन नदिने भन्दै सामाजिक सञ्जालमार्फत दिएको चेतावनीलाई समेत कतिपयले गगन थापासँग जोडेर हेरिरहेका छन् ।
यसबारे अनेकन टिप्पणीहरू हुन थालेपछि थापाले पछिल्लो टिप्पणी गरेका हुन् । गगनले १८ करोडको सोही प्रसंगलाई १८ बजेसँग जोडेर कटाक्ष गरेको बुझिएको छ ।











