यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ
थानकोट ।
ओमानमा बिहीबारदेखि सुरु हुने एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेटमा भाग लिन नेपाली क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
पोखरामा सात दिनको बन्द प्रशिक्षण सकेर टोली पोखराबाट फ्लाइ दुबई हुँदै ओमान जान लागेको हो । टोलीलाई कास्की क्रिकेट संघ र गण्डकी क्रिकेट संघले बिदाइ गरेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले प्रारम्भिक चरणमा छनोट भएका २८ खेलाडीलाई समेटेर पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रशिक्षण गरेको थियो । बन्द प्रशिक्षण पछि १५ जना छनोट भएका थिए । बन्द प्रशिक्षणबाट प्रतियोगितामा राम्रो सफलता प्राप्त गर्न सहयोगी हुने नेपाली टोलीका टिम क्याप्टेन विपिन प्रसाद शर्माले बताए ।
अभ्यास खेलबाट खेलाडीमा उत्साह र भरोसा थपिएकाले प्रतियोगितामा राम्रो प्रदेशन हुने टोलीका प्रशिक्षक बसन्त शाहीले बताए । उनले छोटो कार्यतालिकामा प्रशिक्षण भए पनि उत्कृष्ट प्रर्दशन गर्ने बताए ।
कात्तिक १९ देखि २८ गतेसम्म ओमानमा हुने यू–१९ एसिया कपमा नेपाल समूह ‘ए’मा परेको छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । नेपालले आफ्नो पहिलो खेल कात्तिक २० गते भारतसँग खेल्नेछ भने दोस्रो खेल कात्तिक २२ गते यूएईसगँ खेल्ने छ । त्यसैगरी कात्तिक २४ गते नेपालले पाकिस्तानसगँ खेल्नेछ ।











