नेपाल प्रिमियर लिग क्रिकेट-२०२६: सुदूरपश्चिम रोयल्सको सहज जित
थानकोट ।
नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत सोमबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजविरुद्ध पाँच विकेटको आरामदायी जित निकालेको छ ।
१ सय ३० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २० बल बाँकी छँदै पाँच विकेटको क्षतिमा लक्ष्य भेट्यो ।
जारी सिजनमा सुदूरपश्चिमको यो दोस्रो जित हो ।
सुदूरपश्चिमले यसअघि दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो ।
हिजो भएको खेलमा चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६ .४ ओभरमा पाँच विकेट गुमाएर भेटायो । उसका लागि ब्रेन्डन म्याकमुलेनले २१ बलमा छ चौका र दुई छक्कासहित सर्वाधिक ४३ रन बनाएका थिए ।
यस्तै, ईशान पाण्डेले २१ र विनोद भण्डारीले ११ रन जोडे । अविजीत रहेका शेरफन रदरफर्डले २१ र आरिफ शेखले २० रन बनाए । चितवनका लागि बलिङतर्फ रञ्जीत कुमारले चार ओभरमा २८ रन दिएर सर्वाधिक तीन विकेट लिए ।
यस्तै, मौसम ढकाल र रिजन ढकालले समान एक/एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १२९ रन बनाएको थियो । रवि बोपाराले ४० बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ४९ रनको पारी खेले ।
यस्तै, डेविड मलानले १६, कप्तान सिकन्दर राजा र अर्जुन साउदले समान १५/१५ तथा विवेककुमार यादवले १७ रन जोडे । सुदूरपश्चिमका लागि बलिङतर्फ स्कट कुग्लाइनले दुई तथा कप्तान दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले एकरएक विकेट लिए । यसअघि भएको पहिलो खेलमा काठमाण्डौ गोर्खाजले कर्णाली याक्सलाई चार विकेटको हरायर पहिलो जीत दर्ता गरेको थियो ।
एनपीएलमा आज विराटनगर किंग्स र जनकपुर बोल्टस् तथा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच खेलहुँदैछन् । आठ वटा टोली सहभागी तेस्रो संस्करणको एनपीएल आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।











