आज शुक्रबार कस्तो रहला दिनभरको मौसम ?
थानकोट ।
देशका हिमाली तथा पहाडी भू–भागमा आज आंशिक बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । देशका अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने पूर्वानुमान गरिएको छ ।
त्यस्तै, राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।
रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । बाँकी पहाडी तथा तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
यसैबीच, तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।











